दमक — झापाको दमक नगरपालिका वडा नम्बर ८ मा रहेको दमक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा ईन्डोस्कोपी सेवा सुरु गरिएको छ । अस्पतालमा सुक्रबार अर्थात फागुन ११ गते बाट इन्डोस्कोपी सेवा सुरु गरिने अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष सरिता न्यौपानेले जानकारी दिईन ।
अस्पतालमा उक्त सेवा सुरु भएसँगै ईन्डोस्कोपी गरेर उपचार गर्नुपर्ने बिरामीलाई अन्यत्रै धाउनुपर्ने बाध्यताको अन्त्य भएको अस्पताल व्यवस्थापन पक्षले जानकारी दियो । दमक ८ मा रहेको सो अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बिमा समेत लागू भईरहेको अस्पताल व्यवस्थापन पक्षले जनाएको छ ।
के हो इन्डोस्कोपी, कहिले र किन आवश्यक पर्छ ?
डाक्टरले तपाईंलाई धेरैपटक उपचारका लागि इन्डोस्कोपी गर्ने सल्लाह दिन्छन् । तर के तपाईंलाई इन्डोस्कोपी के हो र यसले कसरी काम गर्छ भन्ने बारे थाहा छ ?
इन्डोस्कोपी गर्दा शरिरमा एउटा पातलो नली हालिन्छ जसमा इन्डोस्कोप क्यामरा राखिएको हुन्छ । यो क्यामराले तपाईंको शरिरको आन्तरिक अंगको तस्बिर खिच्ने गर्छ जुन सिधा मोनिटरमा देख्न सकिन्छ । यसको अर्थ यो हो कि इन्डोस्कोपीको अर्थ शरिर भित्रका अंगको परिक्षण गर्नु हो ।
कस्तो प्रविधी हो इन्डोस्कोपी ?
यदि तपाईंको भित्री अंगमा केही समस्या छ भने त्यसलाई लक्षणको आधारमा पहिचान गरिन्थ्यो किनभने इन्डोस्कोपीको विकास नहुँदा शरिरको भित्री अंगको परिक्षण सोच बाहिरको कुरा थियो । तर प्रविधीको विकास सँगै स्वास्थ्य क्षेत्रमा इन्डोस्कोपी भित्रियो । यसमार्फत पातलो फाइबरयुक्त नलीलाई शरिरभित्र प्रवेश गराएर भित्री अंगको परिक्षण गर्ने गरिन्छ । यो प्रक्रियाको क्रममा कुनै रिपोर्ट कुर्नु पर्दैन किनभने समस्या के हो त्यो प्रत्यक्ष स्क्रिनमा देख्न सकिन्छ । आजकाल अत्यधिक लचिलो इन्डोस्कोपीको मद्दतले नलीमात्र नभई शरिरका कुनै पनि भित्री अंगको परिक्षण सजिलो भएको छ ।
कहिले आवश्यक पर्छ ?
जब शरिरभित्र कुनै समस्या वा संक्रमण हुन्छ तब विभिन्न लक्षण देखिने गर्छ जुन सतहमा हेर्दा डाक्टरले बुझ्न सक्दैनन् । त्यसकारण इन्डोस्कोपीको आवश्यक पर्छ । साधारणतया निम्न रोगमा यो जाँच गरिन्छ ।
नाकको समस्या वा साइनस, गलाको समस्या, यदि कसैलाई खानेकुरा निल्न समस्या भए, बान्ता गर्दा रगत देखिएमा, आन्द्रा सुन्निए वा पीडा हुँदा, कब्जियतबाट ग्रसित हुँदा, पित्तथैलीमा पत्थरी हुँदा, पेटको अल्सर हुँदा, गर्भाशयको जाँचका लागि, पिसाबबाट रगत आउँदा दिसाबाट रगत आउँदा, गर्भावस्थामा भ्रुण जाँच, गम्भीर शल्यक्रिया अघि, कानको रोगका लागि
कसरी गरिन्छ इन्डोस्कोपी ?
इन्डोस्कोपीको प्रक्रियाको क्रममा शरिरभित्र लचिलो फाइबरयुक्त नलीद्वारा क्यामरा पुर्याइन्छ । यो काममा निकै सावधानी अपनाइन्छ ता कि शरिरलाई कुनै क्षती नपुगोस् । मुखको बाटो गरिएको इन्डोस्कोपीमा रबर गार्ड लगाइएको हुन्छ । यसलाई इन्डोस्कोपी माउथ गार्ड भनिन्छ । इस्डोस्कोपीले जाँच गर्न ४५ मिनेटदेखि एक घण्टा लाग्छ र यदि इन्डोस्कोपी विधिले शल्यक्रिया गर्ने हो भने यसमा लगभग दुई घण्टा लाग्न सक्छ । थुप्रै पटक शरिरमा नली छिर्दा बिरामीले बान्ता गर्ने र बेहोस हुने गर्छन् । थुप्रै पटक आन्तरिक अंगका लागि डाक्टरले एनस्थिसिया पनि दिन्छन् । नलीमा राखिएको क्यामरा आन्तरिक अंगको तस्बिर सिधा कम्प्युटर स्क्रिनमा देखाउँछ ।
के इन्डोस्कोपीले क्षती पुर्याउँछ ?
यदि तपाईं कुनै राम्रा चिकित्सकको रेखदेखमा इन्डोस्कोपी गराउनु हुन्छ र अस्पतालमा सरसफाईको ध्यान राखिन्छ भने इन्डोस्कोपी निकै सजिलो र सुरक्षित हुन्छ । थुप्रै पटक परिक्षणको क्रममा सामान्य बान्ता, पेट दुख्ने वा रिंगटा लाग्ने गर्दछ तर त्यो पछि ठिक हुन्छ । इन्डोस्कोपी परिक्षणपछि एक–दुई दिन आराम गर्न सल्लाह दिइन्छ । यो परिक्षण गरेलगत्तै काम गर्नु हुँदैन । साधारणतया इन्डोस्कोपी गरेपछि केही समयसम्म तरल पदार्थको सेवन गर्न सल्लाह दिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर