खोटाङ, ७ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्रका कृषकलाई उन्नत जातका राँगा वितरण कायक्रम शुरु गरेको छ । नगरभित्रका कृषकलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्म निर्भर बनाउने उद्देश्यले यो वर्ष रु ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम शुरु गरिएको हो ।

नगरपालिकाको घोषित कार्यक्रम अन्तरगत तराईका फामहरुबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत कृषकहरुलाई वितरण गर्न शुरु गरिएको नगर उपप्रमुख विशन राईले बताउनुभयो । “यो वर्ष ४०० वटा राँगा वितरण गर्ने कार्यक्रम छ । नगरपालिकाभित्र गठित कृषक समूहमार्फत कृषहरुलाई वितरण गरिन्छ”, उहाँले भन्नुभयो, “नगरपालिकाको कृषि कार्यक्रम अन्तरगत ७५ प्रतिशत अनुदानमा कृषकहरुलाई उन्नत जातका राँगा वितरण गर्ने नीति बनाइएको छ । घोषित कार्यक्रम अनुसार हालसम्म करिब २०० वटा वितरण गरिसहेका छौँ ।”

पन्ध्र वडा रहेको यो नगरपालिकाको वडा नं। ३ बाम्राङमा रु १६ लाख, वडा नं। ४ खाल्लेमा रु सात लाख, वडा नं। ५ लफ्याङमा रु १२ लाख, वडा नं। ७ दोर्पामा रु तीन ३ लाख र वडा नं। १५ विजयखर्कमा रु आठ लाख ५० हजार बराबरको राँगा वितरण गरिसकिएको छ । उक्त वडाहरुमा बाँकी रकमको समेत राँगा खरिद गरेर कृषकहरुलाई वितरण गरिने नगर उपप्रमुख राईले जानकारी दिनुभएको छ ।

राँगा खरिद गरिएको कूल मूल्यको २५ प्रतिशत मूल्य कृषक स्वयम्ले भुक्तानी गर्नेगरी राँगा बितरण कार्यक्रम तय गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो । कृषक समूहको खातामा रकम जम्मा गरिदिएपछि समूह आफैले खरिद–ढुवानी तथा वितरण गर्ने गरिएको छ ।

कृषिलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले विशेषगरी युवालाई रोजगारी र आयआर्जनसँग जोड्ने उद्देश्यले राँगा वितरण कार्यक्रम तय गरेको जनाइएको छ । राँगा तथा भैँसी पालनमार्फत मलसमेत उत्पादन हुने हुनाले तरकारी तथा कृषि उपज उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

गत वर्षको नगरसभाबाट पारित नीति तथा कार्यक्रम अन्तरगत नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अगाडि बढाएको छ । नगरपालिकाले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया तथा तरकारीको व्यवसायिक खेतीका लागि कृषकहरुलाई अनुदान उपलब्ध गराउँदै आएको छ ।

आगामी वर्षदेखि अन्यत्रबाट बिरुवा खरिद गर्न नपरोस् भनेर वडा नं। ६ नेर्पा र वडा नं। १४ बुइपामा कफीका नर्सरी नै स्थापना गरिएको छ । नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्कीइरहेका छन् । बाहिरबाट खरिद गरिएको बिरुवाभन्दा आफैले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि कफीको नर्सरी स्थापना गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख जैसीले बताउनुभयो । नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा दैनिक ज्यालादारीका करिब १०० जना कामदार खटिएका छन् ।

कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अन्तरगत कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष रु १२ अर्ब रकम भित्रिने आँकलन गरिएको उपप्रमुख राईले बताउनुभयो । “दिक्तेलमा उत्पादन भएको कफी स्थानीय बजारसँगै देशका विभिन्न शहरमा बिक्री गर्ने योजना छ । नेपालमा खपत नभएको कफी बेलायत पठाउँछौँ”, उहाँले भन्नुभयो, “प्रशोधन गर्दा त नेपालमै खपत भइहाल्छ । कतिपय कफी प्रशोधन नगरी सिधै बेलायत पठाउने छौँ । त्यसका लागि टेराम्रिदा कम्पनीसँग सम्झौता भइसकेको छ ।”

समुद्री सतहबाट ८०० देखि एक हजार ६०० मिटरको उचाइमा कफी खेती उपयुक्त मानिन्छ । यसअनुसार दिक्तेलको सोल्मा, नेर्पा, दोर्पाचिउरीडाँडा र निर्मलीडाँडामा कफी खेतीको राम्रो सम्भावना देखिएको छ । नगरपालिकाले शुरु गरेको किबी खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत रोपिएका किबीले उत्पादनसमेत दिन थालिसकेका छन् । उत्पादित किबी सङ्कलन गरेर प्रशोधन गर्नेगरी वडा नं। ६ नेर्पामा प्रशोधन केन्द्रसमेत स्थापना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय