जेठ २८ ,खोटाङ । १२ बर्षीया छोरी गुमाएर आफ्नै थातथलो फर्किएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नागीका टेकबहादुर सार्कीको परिवारले नयाँ घर पाएका छन् । बिहान–बेलुकाको छाक टार्नसमेत धौधौ पर्ने अवस्थामा अरूको घरमा आश्रय लिइरहेका सार्की परिवारलाई हलेसी तुवाचुङ नगरपालिकाले भूकम्प प्रतिरोधी आवास निर्माण गरिदिएको हो।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत निर्मित दुई कोठे नयाँ घर जेठ २८ गते बिहीबार टेकबहादुरको परिवारलाई हस्तान्तरण गरिएको छ । आफ्नै नयाँ घर पाएपछि भावुक बन्नुभएका टेकबहादुर सार्कीले भन्नुभयो, विगत १२ वर्षदेखि अरूका घर चाहर्दैमा जिन्दगी बित्यो। सुख खोज्न हिँडेको मान्छे, छोरीलाई समेत सधैँका लागि गुमाएर रित्तो हात गाउँ फर्कनु पर्यो। गाउँ आएपछि पनि अरूको घरमा शरण लिएर बस्दा मन सधैँ रुन्थ्यो। तर आज आफ्नै दुई कोठे घर पाउँदा मन हलुका भएको छ। अब आफ्नै छानोमुनि बसेर दुःख–जेलो गरी बाँच्ने आधार पाएका छौँ। हामीजस्ता असहायलाई हेरिदिने सरकार पनि रहेछ भन्ने महसुस आज भएको छ।
टेकबहादुर सार्की आफ्नो परिवारसहित विगत १२ वर्षदेखि गाउँबाहिर विभिन्न ठाउँमा मजदुरी गर्दै बस्दै आएका थिए। तर, गत वर्ष साउन २९ गते उनको परिवारमा कहिल्यै निको नहुने गहिरो चोट लाग्यो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राममा बस्दै आएको समयमा उनकी १२ वर्षीया छोरी बाम्राममा मृत अवस्थामा फेला परेकी थिइन् । छोरी गुमाएरको वियोगपछि विरक्तिएको सार्की परिवार गत भदौमा आफ्नो पुरानो गाउँ अर्खौले फर्किएको थियो।
आर्थिक रूपमा अत्यन्तै विपन्न र आफ्नो थातथलोमा घरसमेत नभएका कारण उनीहरू गाउँमा अरूको घरमा शरण लिएर बस्दै आएका थिए । सार्की परिवारको अवस्था देखेपछि हलेसी तुवाचुङ नगरपालिकाले तत्कालै खाद्यान्न र नगद सहयोग उपलब्ध गराएको थियो। नगरपालिकाको १३६ औँ कार्यपालिका बैठकले सार्की परिवारको स्थायी बसोबासका लागि घर निर्माण गरिदिने निर्णय ग¥यो। नगरपालिकाको लगानीमा अहिले भूकम्प प्रतिरोधी सुरक्षित आवास निर्माण कार्य सम्पन्न भई परिवारलाई हस्तान्तरण गरिएको हो।
त्यस्तै,वर्षौँदेखि जीर्ण घरमा जोखिमपूर्ण रूपमा बस्दै आएका मंगलटारका भया दमाई र डिकुवाका देशवीर राईको घर पनि निर्माण सम्पन्न भइसकेको छ । निर्माण सम्पन्न भएको घर चाँडै हस्तान्तरण गर्ने तयारी गरेको नगरपालिकाले जनाएको छ।
हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख विमला राईले नागरिकको दुःखमा स्थानीय सरकार सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “टेकबहादुर सार्कीको परिवारले भोगेको पीडा र उहाँहरूको आर्थिक अवस्थालाई हेरेर हामीले प्राथमिकताका साथ घर निर्माण गरिदिएका हौँ,“ नगरप्रमुख राईले भन्नुभयो, “नगरपालिका भित्रका हरेक नागरिकको सुरक्षित आवासको सुनिश्चितता गर्नु स्थानीय सरकारको दायित्व हो।”
