जेठ २५,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश कुमार राईले नेकपा एमाले परित्याग गरेको घोषणा गर्नुभएको छ । वडाध्यक्ष राईले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले परित्याग गरेको घोषणा गर्नुभएको हो ।

राईले २०६४ सालदेखि नेकपा एमालेको संगठित सदस्यका रूपमा राजनीतिक यात्रामा सुरु गर्नुभएको थियो । राईले राष्ट्रिय युवा संघ नेपाल खोटाङको जिल्ला सदस्य, जिल्ला अध्यक्ष, केन्द्रीय सचिवालय सदस्य, जिल्ला इन्चार्ज, युथफोर्स इन्चार्ज तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य र जिल्ला सचिवालय सदस्यलगायत विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ को वडाध्यक्षमा निर्वाचित हुनुभएका राई २०७९ सालको निर्वाचनमा पनि दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको थियो ।

लामो राजनीतिक यात्राका क्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, शिक्षक, कर्मचारी तथा आम नागरिकबाट प्राप्त साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै राईले ती अनुभवलाई आफ्नो राजनीतिक जीवनको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ ।राईले पार्टी त्याग्ने निर्णय कुनै व्यक्ति, समूह वा असन्तुष्टिको परिणाम नभएको स्पष्ट पार्दै समय, परिस्थिति र राजनीतिक दृष्टिकोणको स्वाभाविक विकासक्रमअनुसार नयाँ ढंगले जनताको सेवा गर्ने उद्देश्यले उक्त निर्णय लिएको बताउनुभएको छ ।

“मेरो यो निर्णय कुनै व्यक्ति वा समूहप्रति आग्रह, पूर्वाग्रह वा असन्तुष्टिको परिणाम नभई आफ्नै राजनीतिक सोच, मूल्य, मान्यता र आगामी यात्राको दिशालाई आत्मसात् गर्दै लिइएको निर्णय हो,” राईले सामाजिक संजालमा भन्नुभएको छ । आगामी दिनमा पनि लोकतन्त्र, सुशासन, सामाजिक न्याय, विकास र जनहितको पक्षमा दृढतापूर्वक उभिँदै जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

?>