१५ जेठ, काठमाडौं ।सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन गरेको छ । सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जनाए । स्वास्थ्य बिमा कार्यक्रमलाई १५ अर्ब बजेट विनियोजन गरिएको छ । स्वास्थ्य बिमा कार्यक्रम आर्थिक संकटमा कारण निजी र सरकारी अस्पतालमा सञ्चालित बिमा कार्यक्रम बन्द गर्न बाध्य भएको थियो । स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्टाइएको छ ।
जलन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता वृद्धि गरिने बजेट वक्तव्यमा उल्लेख छ । ‘संघीय अस्पतालमा जलन उपचार युनिट स्थापना गर्नेछौं,’ अर्थमन्त्री वाग्लेले भने । बालबालिकामा हुने क्यान्सरको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने उनले बताए । कर्णाली प्रदेशमा विकट स्थलमा एयर एम्बुलेन्स सेवा सञ्चालन गरिने र नर्सिङ जनशक्तिको रात्रिकालीन डियुटी भत्ता दोब्बर बनाउने घोषणा गरिएको छ । महिला स्वयमसेविका भत्तामा ५० प्रतिशतले वृद्धि गरिएको छ । निर्माण सुरु भएका ३३६ आधारभुत अस्पताललाई ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरिएको छ ।
आधारभूत अस्पताल निर्माण र सञ्चालन गर्न ५ अर्ब ९० करोड विनियोजन विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले जनाए । कर्णाली र सुदूरपश्चिममा टेलिमेडिसन सेवा विस्तार गरिने बजेटमा उल्लेख छ । मधेस प्रदेशमा मिर्गौला प्रत्यारोपण अस्पताल र ट्रमा सेन्टर स्थापना र सञ्चालन गरिने सरकारले घोषणा गरेको छ ।
