खोटाङ, ७ चैत । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आयोजित निःशुल्क आँखा शल्यक्रिया शिविरमा ३९२ जनाले उपचार पाएका छन् । नेपाल नेत्रज्योति सङ्घ खोटाङ र केपिलासगढी गाउँपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा चैत–४, ५ र ६ गते भएको शिविरमा शल्यक्रिया, आँखा जााच, औषधि उपचार, चस्मा वितरण गरिएको हो ।

तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, ३१० जनालाई निःशुल्क औषधि वितरण, ३४ जना जेष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभयो । शिविरमा सगरमाथा चौधरी आँखा अस्पतालका मुख्य शल्यचिकित्सक दिवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख नेत्र अधिकृत हरिहर श्रेष्ठसहित १५ जनाको टोलीले उपचार गरेको हो ।

नेत्रज्योति सङ्घले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा चैत–९, १० र ११ गते र हलेसी तुवाचुङ नगरपालिकामा चैत–१४, १५ र १६ गते शिविर आयोजना गरेको छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना गरिएको शिविरमा शल्यक्रिया गराएका बिरामी र कुरुवाका लागि खाना, खाजा र वासको समेत व्यवस्था गरिएको सङ्घका अध्यक्ष कसजूले जानकारी दिनुभएको छ ।

यो पटक सञ्चालन गरिने निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविरमा करिब दुई हजार १०० जना आँखाका बिरामीले सेवा लिने अनुमान गरिएको आयोजकले जनाएको छ । जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयवासीलाई लक्षित गर्दै खोटेहाङमा पनि दोस्रो चरणमा निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिने जनाइएको छ ।

वि.सं. २०६० वैशाख–१० गतेबाट जिल्लामा औपचारिकरुपमा सेवा शुरु गरेको नेत्रज्योति सङ्घले २७ हजार ५०१ जनाको उपचार गरिसकेको जनाइएको छ । सेवा शुरु गरेयता जिल्लाका तीन हजार ३८ जना जेष्ठ नागरिकलाई रिडिङ ग्लास (पढ्नका लागि लगाइने चस्मा) निःशुल्क चस्मा वितरण गरिएको आयोजकले जनाएको छ ।

एकपटक एउटा ठाउँमा पुगेर निःशुल्क आँखा उपचार शिविर सञ्चालनका लागि नेत्रज्योति सङ्घ र सम्बन्धित स्थानीय तहको रु तीन लाख ५० हजारदेखि रु चार लाखसम्म खर्च हुने जनाइएको छ । शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानले औषधि, उपकरण तथा प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजार र हलेसीमा आँखा उपचार केन्द्रसमेत सञ्चालन गर्दै आएको छ । आँखा उपचार केन्द्र सञ्चालनका लागि नेपाल सरकारले एउटा केन्द्रलाई बीउ पुँजीको रुपमा हरेक वर्ष रु पाँच लाख बजेट उपलब्ध गराउँदै आएको सङ्घका अध्यक्ष कसजूले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय