झापा । शिवसताक्षी नगरपालिकाले पाँच बर्षको अवधिमा पर्यटकीय स्थलहरुको पूर्वाधार विकासमा रु. ११ करोड २३ लाख बढी लगानी गरेको छ ।

नगरकै गौरवको आयोजनाका रुपमा सतासीधाम, दोमुखा, चिल्लागढ, डुडामारी सिमसारलगायतका क्षेत्रको पूर्वाधार विकास गरेर बार्षिक लाखौं पर्यटक भित्र्याउन सफल भएको छ । नगरले कृत्रिम पर्यटकीय क्षेत्र निर्माणमा भन्दा पौराणिक र ऐतिहासिक स्थलहरुको विकासमा विशेष ध्यान दिएको नगरप्रमुख चन्द्र शेर्माले बताए ।

उनका अनुसार नगरले अन्य क्षेत्रको तुलनामा दोमुखा पर्यटकीय क्षेत्रको विकासमा सबैभन्दा बढी रु. पाँच करोड ९१ लाख खर्च गरेको छ । दोमुखा पर्यटकीय क्षेत्रमा स्वीमिङ पुल, चिल्ड्रेन पार्क, कनकाई नदीमा तटबन्धनका लागि मात्र रु. छ करोड ६१ लाख खर्च गरिएको छ । उनले सो क्षेत्रका विकासका लागि नगरपालिकाले रु. एक करोड ७५ लाख, केन्द्रीय सरकारको १० लाख, पर्यटन मन्त्रालयको रु. एक करोड ३० लाख र प्रदेश सरकारको रु. ५० लाख र सडकको रु. ५० लाख प्रदेश उपभोक्ताबाट खर्च भएको बताए ।

यस क्षेत्रको पर्यटकीय पूर्वाधार विकाससँगै आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढेको छ भने आसपासका क्षेत्रमा व्यापार व्यवसाय समेत फस्ट्याएको उनको दाबी छ ।

यसैगरी, पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट ४ किलोमिटर उत्तर चुरेपहाडको फेदीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल सताक्षी धामको पर्यटकीय पूर्वाधारमा रु दुई करोड ६५ लाख खर्च भएको छ । सो रकमबाट सडक बनाउने, सडकमा ब्लक ओछ्याउने, ड्रेन, जलकुण्ड निर्माणदेखि मन्दिर परिसरमा विभिन्न संरचना बनाइएको नगर प्रमुख शेर्माले जानकारी दिए ।

सताक्षी धामको पूर्वाधार विकासका लागि डिपीआरमा मात्र रु. २० लाख खर्च भएको छ । यस क्षेत्रका विकासका लागि रु एक करोड ५६ लाख नगरको खर्च गरिएको छ भने रु. एक करोड १४ लाख केन्द्रीय सरकारको बजेटबाट निकास भएको थियो ।

हल यस क्षेत्रमा दैनिक जसो आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । पछिल्लो समय झापाका अन्य स्थानमा भन्दा यहाँ १२ महिना नै पिक खाने आउने, भ्रमणका लागि विभिन्न धार्मिक तथा संघसंस्थाहरुबाट आउनेको आकर्षणको कन्द्रविन्दू बनेको नगरकी उपप्रमुख भोजकुमारी नेपालले बताइन् ।

नगरको अर्को महत्वपूर्ण पर्यटकीय स्थल चिल्लागडको विकासका लागि रु. ८२ लाख खर्च गरिएको छ भने ८० विगाह जमिनमा फैलिएको डुडामारी सिमसार क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माण र घेराबेरा कार्य सम्पन्न गर्न रु.एक करोड ८५ लाख खर्च गरिएको उनले बताइन् ।

“गरिबी निवारण र जनताको जीवनस्तरमा सुधार ल्याई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न पर्यटन क्षेत्रले महत्वपूर्ण योगदान पुर्याएको”, उनले भनिन् “पर्यटनले नगरको अर्थतन्त्रलाई चलायमान बनाउँछ । त्यसकारण पनि हाम्रो पहिलो प्राथमिकता पर्यटकीय क्षेत्रको विकासमा रह्यो ।”

प्रतिक्रिया

सम्बन्धित खवर