पछिल्लो १० वर्षमा धनकुटासहित प्रदेश १ का नौ जिल्लाको जनसंख्या घटेको छ। प्रदेश १ का पहाडी जिल्ला धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगाको जनसंख्या २०६८ सालभन्दा २०७८ सालमा कम भएको पाइएको हो।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा देशका ३२ जिल्लाको जनसंख्या २०६८ सालभन्दा कम छ। जसमा प्रदेश १ का नौ जिल्ला रहेका छन्।

धनकुटाको जनसंख्या २०६८ सालमा एक लाख ६३ हजार ४१२ रहेकामा २०७८ सालमा एक लाख ४९ हजार ९८४ कायम भएको छ। तेह्रथुममा २०६८ सालमा एक लाख एक हजार ५७७ जनसंख्या रहेकामा २०७८ सालमा ८९ हजार १२५ मा झरेको छ। ताप्लेजुङमा २०६८ मा एक लाख २७ हजार ४६१ जना रहेकामा २०७८ मा एक लाख २० हजार ३५९ मा झरेको छ। पाँचथरमा ०६८ सालमा एक लाख ९१ हजार ८१७ जनसंख्या रहेकामा २०७८ सालमा एक लाख ७४ हजार ४१९ कायम भएको छ।

इलामममा २०६८ सालमा दुई लाख लाख ९० हजार २५४ जनसंख्या रहेकामा २०७८ सालमा दुई लाख ८० हजार ५६५ मा झरेको छ। भोजपुरको जनसंख्या २०६८ सालमा एक लाख ८२ हजार २५९ रहेकामा २०७८ मा एक लाख ५८ हजार ९९१ मा झरेको छ। सोलुखुम्बुमा २०६८ सालमा एक लाख पाँच हजार ८८६ जना रहेकामा २०७८ सालमा एक लाख चार हजार ७६८ मा झरेको केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।

खोटाङमा २०६८ सालमा भन्दा ३० हजार ९७२ जनाले जनसंख्या कम भएको छ। २०६८ सालमा दुई लाख ६ हजार ३१२ रहेकामा २०७८ सालमा एक लाख ७५ हजार ३४० मा झरेको छ। ओखलढुंगामा २०६८ सालको जनसंख्या एक लाख ४७ हजार ९८४ रहेकामा २०७८ मा एक लाख ४० हजार ९१४ मा झरेको छ।

प्रदेश १ को पहाडी जिल्ला संखुवासभामा भने जनसंख्या बढेको छ। संखुवासभाको जनसंख्या १० वर्षमा ३०४ जना बढेर एक लाख ५९ हजार ४६ पुगेको छ। प्रदेश १ को ५ जिल्लामा भने २०६८ सालको भन्दा जनसंख्या बढेको छ। प्रतिशतका आधारमा सबैभन्दा धेरै जनसंख्या झापाको बढेको छ। झापाको जनसंख्या २०६८ सालमा आठ लाख १२ हजार ६५० रहेकोमा अहिले एक लाख ८१ हजार ४४० ले बढेर नौ लाख ९४ हजार ९० पुगेको छ। त्यस्तै मोरङ, सुनसरी र उदयपुरको पनि जनसंख्या बढेको छ। मोरङको जनसंख्या एक लाख ८१ हजार ८१६ जना बढेर एघार लाख ४७ हजार १८६ पुगेको छ।

सुनसरीमा १० वर्षको अवधिमा २९ हजार २६ जना बढेर जिल्लाको कुल जनसंख्या नौ लाख ३४ हजार ४६१ पुगेको छ भने उदयपुरको २०६८ को जनसंख्या तीन लाख १७ हजार ५३२ रहेकोमा बढेर तीन लाख ४२ हजार ७७४ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर