
विशाल बिहानी
“म दलितसँगै बसेर खान्छु ”, “उनिहरुले छोएको खान्छु”, वा “घरमा पस्न दिन्छु” भन्ने भनाइ सतही रूपमा समावेशी लागे पनि यसको गहिरो संरचना हेर्दा यसमा एक किसिमको सत्ता सम्बन्धी अहंकार र ‘उदारता’ को नाममा कायम रहने प्रभुत्व चेत झल्किन्छ ।
यसमा व्यक्त गर्नेले आफूलाई अझै ‘मुख्यधारा’ को, ठूलो जातको,‘सामाजिक रूपमा माथि’ रहेको स्थिति मानिरहेको देखिन्छ । र त्यसको आधारमा दलित समुदायप्रति “म दयालु छु”, “मैले विभेद गर्दिनँ” भन्ने ध्वनि आउँछ — जुन संवेदनशील समता होइन, अझै पनि आफू माथि र उनीहरू तल भन्ने मानसिक ढाँचाबाट उब्जिएको देखिन्छ ।
भाष्यको सत्ता संरचना
यस्ता भनाइको मूल संरचनामा एउटै कुरा दोहोरिरहन्छ — म ‘ठूलो’ जातको हुँ, र म ‘सानो’ जातप्रति दयालु छु । मैले उनीहरूलाई खान दिँदा, घरमा पस्न दिँदा, मेरो नैतिक स्तर उँचो प्रमाणित हुन्छ । यो ‘दयामूलक समावेशिता’ हो — जहाँ उदार देखिन चाहने ‘मुख्यधारा’ ले अझै पनि आफ्नै प्रभुत्व कायम राख्छ । यस्तो भाषा समानताको अभ्यास होइन, सत्ताको भाषा हो — जहाँ स्वीकार गर्ने अधिकार अझै पनि उच्च जातको हातमा रहन्छ ।
ऐतिहासिक सन्दर्भः पञ्चायतकालीन र सार्वजनिक रोटी–बेटी सम्बन्ध
नेपालको पञ्चायतकाल (२०१७–२०४६) सम्म आइपुग्दा पनि धेरै ग्रामीण ठाउँमा दलितहरूलाई पाटीपौवा बस्न निषेध, सार्वजनिक धारामा पानी चलाउन निषेध, तथा भोजमा बस्न र खान दिन प्रतिबन्धित थियो। जब कहिलेकाहीँ ‘उच्च’ जातले दलितलाई खाना दिन्थे वा छुन दिन्थे, त्यो उदारताको कुरा बनाइन्थ्यो — त्यो न्याय होइन, सामाजिक रूपमा प्रभुत्वको अभ्यास थियो। थुप्रै गाउँमा ‘रोटी–बेटी सम्बन्ध’ (खानपिन र विवाह सम्बन्ध) को प्रतिबन्ध अझै कायम छ । जब कसैले यो सम्बन्ध स्थापित गर्छ, त्यो घटना ‘उदार अपवाद’ का रूपमा चर्चा हुन्छ सामान्य मानवीय सम्बन्ध होइन ।
उदाहरणः सञ्चारमाध्यम र राजनीतिक भाषण
केही वर्ष अघि एक पूर्वप्रधानमन्त्रीले भनेका थिए, “हामी त दलितको घरमा गएर ढिंडो खाएको मान्छे” — सन्देश के थियो ? उनले जातीय समता लाए? होइन । सन्देश थियो हामी जस्ता उच्च जातका मानिसले त यस्तो पनि गरेका छौं। चलचित्रहरूमा अक्सर एउटै दृश्य दोहोरिन्छ ‘उच्च जातको नायक’ दलित पात्रसँग मित्रता गर्छ, सँगै खान्छ र त्यो मित्रताको कथा ’नायक’ को महानता बनेर प्रस्तुत हुन्छ, दलित पात्रको आत्मसम्मान होइन ।
त्यसोभए कस्तो हुन्छ त समानता ?
साँचो समानता त्यतिबेला देखिन्छ जब यस्ता कुराहरू सामान्य हुन्छन्, उल्लेख गर्नुपर्ने आवश्यकतै पर्दैन ।जस्तै “म त ब्राह्मणको घरमा पस्छु, उसले छोएको खान्छु” भन्ने कथन कत्तिको हास्यास्पद लाग्छ, होइन र? किनभने त्यो ‘सामान्य’ मानिन्छ । तर जब दलितको सन्दर्भ आउँछ, त्यो असामान्य ठानिन्छ र भनाइको रूप लिईन्छ यही नै विभेदको गहिराइ हो। यस्तो भनाइमा गहिरो जातीय चेतनाको अवशेष रहन्छ, जुन नैतिक उच्चता देखाउने आवरणमा लुकेको विभेद हो।
निष्कर्ष
जातीय विभेद उन्मूलन भाष्यले मात्र होइन, भाष्यको शैलीले पनि तय हुन्छ । जबसम्म “म उनीहरूसँग खान्छु” भन्नु उदारता होइन, सामान्यता बन्दैन तबसम्म समानताको साँचो अभ्यास संभव हुँदैन ।जातीय विभेदविरुद्धको संघर्ष भनेको दयाको सौदाबाजी होइन, आत्मसम्मानको पुनःस्थापना हो। त्यसैले भाष्यको रूप परिवर्तन नगरेसम्म विचारको रूप परिवर्तन हुँदैन । विभेदको रुप अनेकौं छन् यसलाई बदल्न चेतनाको धरातल सहि हुन जरुरी छ त्यसपछि मात्रै हामीले समस्याको असली समाधान खोज्न सक्छौं ।