मंसिर २०,खोटाङ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पुरस्कृत गरेको छ । नाष्टको ४३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहको अवसर पारेर आज (शनिबार) आयोजित कार्यक्रममा नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ प्रदान गरेको हो ।
बाँसजन्य स्रोतको संरक्षण, प्रवद्र्धन तथा प्रयोगमार्फत स्थानीयस्तरमा बाँसलाई भवन निर्माण, हस्तकला, व्यवसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रुपमा रुपान्तरणसँगै बाँस सम्बन्धी सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको नाष्टले जनाएको छ ।
नगरपालिकाले प्राप्त गरेको भुवनेश्वर प्रविधि पुरस्कार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानबाट निर्माण कार्यमा किफायत हुने प्रविधि विकास गर्ने यस्तो प्रविधिको अनुसन्धान तथा यस्तो कार्य क्षेत्रमा प्रयोग गर्न उच्च योगदान दिन सफल अनुसन्धानकर्ता वा संस्थाको प्रोत्साहन तथा सम्मानका लागि स्थापना गरिएको पुरस्कार हो ।
कृषि विकास, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, जैविक विविधता, शिक्षा, सेवा प्रवाह, सुशासन, पारदर्शिता, प्राविधिक सुविधा तथा समग्र विकासका विभिन्न सूचकमा सञ्चालन गरेको मूल्याङ्कनमा देशका ७५३ वटा स्थानीयमध्ये यो नगरपालिका सबैभन्दा उत्कृष्ट भएको नगरपालिकामा प्राप्त नाष्टको पत्रमा जनाइएको छ । नाष्टका कुलपति एवम् नेपाल सरकारका प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा यही मङ्सिर–१२ गते बसेको नाष्टको ४९ औँ प्राज्ञसभाले यो नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’बाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।
नाष्टले प्रदान गरेको रु २५ हजार राशिको पुरस्कार नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् नाष्टका सहकुलपति महावीर पुनको हातबाट ललितपुरस्थित खुमलटारमा आयोजित कार्यक्रममा ग्रहण गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । “नाष्टले प्रदान गरेको यो पुरस्कार नगरवासीको सामूहिक मेहनत र प्रतिबद्धताका परिणाम भएको हो । नगरपालिकाको यो उपलब्धिलाई आगामी दिनमा कृषि, वातावरण, शिक्षा, सामाजिक समावेशीकरण, पूर्वाधार विकास र सुशासनका क्षेत्रमा अझ प्रभावकारी काम गर्ने हौसला मिलेको छ”, नगरप्रमुख भन्नुभयो, “यो सम्मान आफैमा गर्विलो र ऐतिहासिक छ । नाष्टका विज्ञको मूल्याङ्कनबाट पाएको राष्ट्रिय सम्मानको गरिमालाई बचाइराख्न जनप्रतिनिधि तथा कर्मचारीहरु दत्तचित्त भएर अग्रणी भूमिका खेल्ने छौँ ।”
बाँस तथा बाँसजन्य सामग्रीको प्रवद्र्धन तथा नीति निर्माणका लागि दबाब सिर्जना गर्न नगरप्रमुख भट्टराई गत साउन–१४ गते काठमाडौँमा सत्याग्रह बस्नुभएको थियो । नगरप्रमुख भट्टराई सत्याग्रह बसेको चार महिनापछि नेपाल सरकार, उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गर्नुभएको थियो ।
नगरपालिकाले ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित फागुन–१५ गतेबाट तीन दिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरेको थियो । दिक्तेल बजारमा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन–१५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने लगायतका निर्णयहरु समेटेर खोटाङ घोषणापत्र पारित गरेको छ ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि नगरप्रमुख तीर्थराज भट्टराई र उपप्रमुख बिशन राईले आफ्नो कार्यकक्षमा कुर्सी, टेबल र दराजसमेत बाँसकै प्रयोगमा आउनुभएको छ ।

