असोज २४, खोटाङ। कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले ६५६ जना खेलाडी पठाउने गरी प्रक्रिया सुरु गरेको छ ।प्रतियोगितामा कोशी प्रदेशको उपस्थिति बलियो बनाउन प्रदेशले दर्ता भएका ९ हजार ३१० खेलाडीबाट उत्कृष्ट ६५६ जना खेलाडी छनोट गर्ने प्रक्रिया अगाडि बढाएको हो । कोशी प्रदेशबाट ३४४ पुरुष र ३१२ महिला खेलाडीहरू सहभागी हुनेछन् ।

खेलाडीहरूको मनोबल उच्च राख्न प्रदेश खेलकुद विकास बोर्डले आकर्षक नगद पुरस्कारको घोषणा पनि गरेको छ । जसअनुसार व्यक्तिगत वा सामूहिक स्पर्धामा स्वर्ण पदक जित्ने खेलाडीलाई दुई लाख, रजत पदक विजेतालाई एक लाख र कास्य पदक विजेतालाई ५० हजार रुपियाँका दरले पुरस्कार दिइने छ ।यसका साथै खेलाडीहरूलाई खेलमै टिकाइराख्न मासिक प्रोत्साहन भत्ता दिने विषयमा पनि गृहकार्य भइरहेको सदस्य सचिव विप्लव घोषले जानकारी दिनुभयो ।

छनोटमा सहभागी हुन ३ हजार ७६५ महिला र ५ हजार ५४५ पुरुष खेलाडीले आवेदन दिएका छन् । जिल्लागत रूपमा सबैभन्दा धेरै मोरङबाट १ हजार २८० र सबैभन्दा कम तेह्रथुमबाट ११२ खेलाडी सहभागी छन् ।जिल्लास्तरीय छनोट असोज २३ गते संखुवासभाबाट सुरु भइसकेको छ र यो असोज २९ सम्म सम्पन्न हुनेछ । त्यसपछि कात्तिक १२ देखि २१ गतेसम्म प्रदेशस्तरीय प्रतिस्पर्धाबाट अन्तिम टोली छनोट गरी मंसिर १ गतेदेखि बन्द प्रशिक्षणमा राखिनेछ ।

मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा समावेश गरिएका सबै ३२ खेलमै कोशी प्रदेशले सहभागिता जनाउनेछ । प्रतियोगिताका लागि ६५६ खेलाडीसहित ८१ प्रशिक्षक र ४० अफिसियल गरी कुल ७८२ जनाको जम्बो टोली कर्णाली प्रस्थान गर्नेछ ।निष्पक्ष छनोट र व्यवस्थित प्रशिक्षणमार्फत प्रदेशको पदक तालिका सुधार गर्ने लक्ष्य राखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

?>