खोटाङ, २६ असोज । खोटाङमा ‘बोलाउ खोटाङ जिल्ला व्यापी खुला पुरुष फुटबल प्रतियोगिता’ सुरु भएको छ । सोमबारदेखि दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा मिरमिरे फुटवल क्लब बाम्राङले खमारे फुटवल क्लब याम्खालाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
मिरमिरे क्लबको जितमा सुमन राईले दुवै गोल गरेका थिए । उत्कृष्ट प्रदर्शन गरेका राई खेलको ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । जितसँगै मिरमिरे क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको आयोजकले जनाएको छ ।हिङमाङ एकता समाज, खोटाङको आयोजना तथा बोलाउ खोटाङको सहयोगमा सञ्चालन भएको प्रतियोगिता असोज ३० गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन संबिधानसभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य विशाल भट्टराईले गरेका थिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार असोज २७ गते तीन खेल हुने खेल संयोजक दिनेश हिङमाङले जानकारी दिएका छन् । पहिलो खेलमा दिक्तेल एकेडेमी र बोलाउ खोटाङबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा बाम्राङ युवा क्लब र काफ्ले युथ क्लब भिड्ने छन् भने तेस्रो खेलमा दिक्तेल बेकरी र आयोजक हिङमाङ एकता समाजबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीले २५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । तेस्रो हुने टोलीले ११ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक हिङमाङले जानकारी दिएका छन् ।प्रतियोगितामा पाँच विधामा उत्कृष्ट हुने खेलाडीलाई सम्मान गरिने खेल आयोजकले जनाएको छ । १२ टोली सहभागी प्रतियोगितामा जिल्लामा राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।
