खोटाङ, ३१ वैशाख । ‘खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता–२०८२’को उपाधि ललितपुरका बद्रीलाल नेपालीले जित्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत बुधबार सम्पन्न फाइनल खेलमा नेपालीले छ दशमलव पाँच अङ्क जोड्दै प्रथम स्थान ओगट्नुभएको हो ।

सात राउण्डको प्रतियोगितामा समान साढे पाँच अङ्क जोड्दै सुनसरीका हिमाल राई दोस्रो तथा खोटाङका धिरेन राई तेस्रो हुनुभएको छ । यस्तै, रौतहटका रुपेश जैसवाल चौथो, सुनसरीका मुहाननर्सिङ श्रेष्ठ पाँचौँ, झापाका सुमन श्रेष्ठ छैटौँ, भोजपुरका प्रदीप राई सातौँ, काठमाडौँका नवीन तन्दुकार आठौँ, झापाका राजन सुवेदी नवौँ तथा मोरङका उमेश राई दशौँ हुनुभएको प्रतियोगिताका सहजकर्ता बुद्धिचाल सङ्घ खोटाङका अध्यक्ष सूर्य तामाङले जानकारी दिनुभएको छ ।

विभिन्न जिल्लाका ४१ जना खेलाडी सहभागी प्रतियोगिताका प्रथम, द्धितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ हुने खेलाडीले क्रमशः रु २५ हजार, रु १५ हजार, रु दश हजार, रु आठ हजार, रु सात हजार तथा छैटौँदेखि दशौँसम्मका खेलाडीलाई जनही नगद रु चार÷चार हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित प्रतियोगितामा अनरेटेट, भेट्रान, जिल्ला प्रथम, १६ वर्षमुनिकाको सर्वोत्कृष्ट तथा नगर प्रथमसमेत चयन गरिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ ।

अनरेटेटतर्फ सर्वोत्कृष्टमा दाङका बेदु सारुमगर, भेट्रानतर्फ सर्वोत्कृष्ट सुनसरीका चुडामणि कुलुङ राई, खोटाङ प्रथममा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका दयन्द्र राई, १६ वर्षमुनिकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका सुयव सैँजू तथा दिक्तेल रुपाकोट मझुवागढी नगर प्रथममा पदमकुमार राई चयन हुनुभएको छ । अनरेटेट सारुमगर र भेट्रान चुडामणिले नगद रु तीन÷तीन हजार, खोटाङ प्रथम दयन्द्रले नगद रु पाँच हजार, १६ वर्षमुनिका सैँजू र नगर प्रथम राईले नगद रु दुई हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

विजयी खेलाडीहरुलाई बुद्धिचाल महासङ्घ नेपालका अध्यक्ष हेराकाजी मर्हजन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राई, बुद्धिचाल महासङ्घका केन्द्रीय उपमहासचिव मोनालिसा खम्बू, प्रदेश अध्यक्ष सुरेन्द्रकुमार राई लगायतले पुस्कार वितरण गर्नुभएको छ । खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका उपाधि विजेता नेपाली पूर्वनेपाल च्याम्पियनसमेत हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय