साउन १०, खोटाङ । सहिद मनोज जोशी–झपेन्द्र कार्कीको ३५औँ स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइने भएको छ । २०४८ साल साउन १५ गते नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरूले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी रहेका बेला प्रहरीको गोली लागेर ज्यान गुमाएका जोशी तथा कर्मचारी आन्दोलनकै क्रममा आगजनीमा परी ज्यान गुमाएका कास्कीका वारुणयन्त्र चालक कार्कीको स्मृतिमा पाँच दिनसम्म विविध कार्यक्रम आयोजना गरी ‘मनोज–झपेन्द्र’ स्मृति दिवस मनाइने भएको हो।
स्मृति दिवसका अवसरमा साउन १० गतेदेखि दिक्तेलस्थित मनोज मार्ग सरसफाइ गरिने, १२, १३ र १४ गते स्नोकर प्रतियोगिता, साउन १४ गते बिहान ७ बजे जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण , साउन १४ गते दिउँसो जिल्ला समन्वय समितिको सभाहलमा सुल्ला कबिता प्रतियोगिता र १५ गते मनोज जोशीको समाधिस्थल हस्पिटल चोकमा श्रद्धाञ्जली सभा तथा ‘मनोज प्रतिभा पुरस्कार एवं सम्मान’ कार्यक्रम आयोजना गरिने मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभएको छ । सहिदहरूको योगदानको स्मरण गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै युवा पुस्तालाई प्रेरित गर्ने उद्देश्यले हरेक वर्ष स्मृति दिवस मनाउँदै आएको अध्यक्ष आचार्यले बताउनुभएको छ ।
‘मनोज प्रतिभा पुरस्कार एवं सम्मान’ अन्तर्गत पुरस्कृत हुने व्यक्तिहरूको नाम साउन १५ गते हुने समापन कार्यक्रममा सार्वजनिक गरिने आयोजकले जनाएको छ । जिल्लामा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै जोशी र कार्कीको स्मृति दिवस मनाउँदै आएका छन्। जोशीलाई सरकारले २०७४ साल माघ २२ गते सहिद घोषणा गरेको थियो।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसँग भएको सम्झौता अनुसारका सेवा सुविधा उपलब्ध नगराइएको विरोधमा कर्मचारीहरूको अगुवाइमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी जोशीलाई दिक्तेलको हेलिप्याड क्षेत्रमा प्रहरीले चलाएको गोली लागेको थियो। बजार परिक्रमा पछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जाने क्रममा प्रहरीले चलाएको गोली लाग्दा जोशीको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
उक्त घटनापछि आक्रोशित भीडले केही कार्यालय प्रमुखहरूलाई नियन्त्रणमा लिई दुव्र्यवहार गरेको बताइएको छ । सो आन्दोलनमा सहभागी भएको आरोपमा जिल्लाका १३ जना कर्मचारीहरूलाई सेवाबाट बर्खास्त गरिएको थियो।दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी जोशीको हत्या भएको उक्त घटनालाई जिल्लामा ‘मनोज हत्याकाण्ड’का रूपमा चिनिन्छ। सोही दिनलाई खोटाङमा ‘मनोज–झपेन्द्र’ स्मृति दिवसका रूपमा हरेक वर्ष मनाउने परम्परा रहेको छ।
