असार १७, खोटाङ । सामुदायिक विद्यालयको शिक्षण प्रणालीलाई समय सापेक्ष, प्रविधिमैत्री र व्यवहारिक बनाउने उद्देश्यले खोटाङको साकेला गाउँपालिकाले सञ्चालन गरेको चारदिने “नमूना डिजिटल शिक्षा तालिम” बुधबार सम्पन्न भएको छ । गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि पालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयमा डिजिटल माध्यमबाट पठनपाठन औपचारिक रूपमा सुरु गर्ने तयारी पूरा गरेको जनाएको छ ।

गाउँपालिकाले पहिलो चरणमा ६ वटा माध्यमिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका शिक्षक–शिक्षिकालाई डिजिटल शिक्षण विधि, स्मार्ट बोर्डको प्रयोग, अन्तरक्रियात्मक कक्षा सञ्चालन तथा आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणालीबारे क्षमता विकास तालिम प्रदान गरेको हो। आगामी दिनमा पालिकाभित्रका सबै २८ वटा सामुदायिक विद्यालयमा डिजिटल शिक्षा विस्तार गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ ।

डिजिटल शिक्षा अन्तर्गत विद्यार्थीलाई परम्परागत पाठ्यपुस्तकमा सीमित नराखी भिडियो, एनिमेसन, त्रिआयामिक (थ्री डि ) सामग्री, डिजिटल प्रस्तुति तथा कृत्रिम बुद्धिमत्ता (एआई) को सहायताबाट सिकाइलाई थप प्रभावकारी बनाइने गाउँपालिकाले जनाएको छ । ब्रम्हाण्डको उत्पती देखि मानव विकास हुँदै व्रम्हाण्डको अन्त्य सम्मको विषयवस्तु समेटेर डिजिटल माध्यमद्वारा पठन पाठन सुरु गरेको साकेला गाउँपालिकाले नयाँ प्रविधिबाट पठन–पाठन गराउने देशको ७५३ स्थानीय तहमध्ये पहिलो भएको दावी गरिएको छ ।

यस शिक्षण प्रणालीमा विद्यालयको स्थानीय पाठ्यक्रमसँगै भूगोल विज्ञान, पृथ्वी र ब्रह्माण्डको उत्पत्ति तथा विकाससम्बन्धी वैज्ञानिक सिद्धान्त, समयको अवधारणा, मानव सभ्यताको विकासक्रम, वातावरणीय चेतना, विज्ञान, प्रविधि, स्थानीय इतिहास, संस्कार, संस्कृति र समसामयिक ज्ञानलाई डिजिटल सामग्री मार्फत अध्ययन गराइने योजना रहेको छ । यी विषयहरूलाई वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रमाणमा आधारित सिकाइ प्रक्रियासँग जोडिने जनाइएको छ ।

समापन समारोहलाई सम्बोधन गर्नुहुँदै साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले अबको शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम नभई जीवन बुझ्ने, प्रविधि प्रयोग गर्ने र विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्ने प्रणाली हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “आजको विश्व कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल प्रविधि र ज्ञान–आधारित अर्थतन्त्रतर्फ अघि बढिरहेको छ । यस्तो समयमा विद्यार्थीलाई केवल घोकन्ते शिक्षामा सीमित राखेर भविष्य निर्माण गर्न सकिँदैन। अब विज्ञान, अनुसन्धान, प्रविधि र व्यवहारिक सीपलाई शिक्षाको केन्द्रमा राख्नुपर्छ।”

अध्यक्ष राईले पृथ्वी, ब्रह्माण्ड, मानव सभ्यता, समयको महत्व तथा वैज्ञानिक खोजहरूबारे विद्यार्थीलाई आधुनिक डिजिटल सामग्री मार्फत अध्ययन गराउने योजना रहेको उल्लेख गर्दै त्यससँगै स्थानीय इतिहास, संस्कृति र सभ्यतालाई पनि पाठ्यक्रमको अभिन्न अङ्ग बनाइने जानकारी दिनुभयो। “विद्यार्थीले आफ्नो गाउँ, आफ्नो संस्कृति र आफ्नो पहिचान बुझ्दै विश्वलाई पनि बुझ्न सक्ने शिक्षा प्राप्त गर्नुपर्छ। स्थानीय ज्ञान र आधुनिक विज्ञानबीचको सन्तुलन नै गुणस्तरीय शिक्षाको आधार हो,”उहाँले भन्नुभयो। उहाँले नेपालको शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्न स्थानीय तहले पनि नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै साकेला गाउँपालिकाले डिजिटल पूर्वाधार, शिक्षक क्षमता विकास र प्रविधिमा आधारित शिक्षण प्रणालीमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने दीर्घकालीन अभियान सुरु गरेको बताउनुभयो।

तालिममा सहभागी शिक्षकहरूले डिजिटल शिक्षाले विद्यार्थीको सिकाइलाई थप दृश्यात्मक, अन्तरक्रियात्मक, सिर्जनशील र अनुसन्धानमुखी बनाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार स्मार्ट बोर्ड, मल्टिमिडिया सामग्री र (एआई) आधारित शैक्षिक उपकरणको प्रयोगले जटिल विषयवस्तु समेत सहज रूपमा बुझाउन सहयोग पुग्नेछ । गाउँपालिकाले पहिलो चरणमा ३६ वटा स्मार्ट बोर्ड विद्यालयहरूमा जडान गर्ने प्रक्रिया पूरा गरिसकेको जनाएको छ । डिजिटल पूर्वाधार, शिक्षकको क्षमता अभिवृद्धि र स्थानीय पाठ्यक्रमलाई आधुनिक प्रविधिसँग जोड्ने यो अभियान सफल भए साकेला गाउँपालिका ग्रामीण क्षेत्रको डिजिटल शिक्षाको नमूना स्थानीय तहका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । 
