झापा – झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ मा १ हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा पुगेको छ ।
कोरोनाको नयाँ भेरियन्ट फैलन थालेपछि होल्डिङ सेन्टरको निर्माण द्रूत गतिमा अगाडि बढेको हो । होल्डिङ सेन्टरमा खटिएका प्राविधिकका अनुसार ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
मेचीनगरको दुवागडीस्थित हडिया खोलाको बगरमा चार बिगाहा क्षेत्रफलमा फैलिएको होद्यिडङ सेन्टरमा एक हजार जनालाई अटाउन सकिन्छ । २२ वटा छुट्टाछुट्टै आरसीसी भवनका हरेक कोठा एट्याच बाथरुमसहितका निर्माण भएका छन् ।
मेचीनगर १४ का अध्यक्ष शंकरप्रसाद पोखरेलका अनुसार १४ वटामा क्वारेन्टिन हलमध्ये दुई वटा मेडिकल अधिकृत र स्वाथ्यकर्मीले आवासको रूपमा प्रयोग गर्नेछन् । २५ करोडको लागत रहेको होल्डिङ सेन्टर गएको असार ३ गते मात्रै हनुमान कन्ट्रक्सन ललितपुरले निर्माण ठेक्का पाएको थियो।
होल्डिङ सेन्टर बनेको जग्गा पनि नगरपालिकाको स्वामित्वमा रहेको छ । काँकडभिट्टा नाका आसपासमा जमिन नपाइएपछि हडिया खोला बगरमा बनाइएको मेची नगरको सूचना शाखाले जनाएको छ ।
काँकडभिट्टाबाट १७ किलोमिटरको दुरीमा रहेको होल्डिङ सेन्टर पुग्न धाइजन हुँदै भित्री सडकबाट मानव बस्ती जानुपर्छ । त्यसपछि हडिया खोलाको बगरमै होल्डिङ सेन्टर निर्माण भएको छ । सेनाले नै निर्माणाधीन होल्डिङ सेन्टरको रेखदेख गरिरहेको छ ।
अझै तयार भएनन होल्डिङ सेन्टर
सरकारले कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा व्यहोरेको क्षतिलाई मध्यनजर गर्दै देशभर ८ हजार क्षमताका होल्डिङ सेन्टर बनाउन शुरु गरेता पनि अहिलेसम्म ती होल्डिङ सेन्टर तयार भएका छैनन् ।
गत जेठमै सरकारले हरेक प्रदेशमा एक हजार क्षमताका होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिएको थियो । सेनाले बोलपत्र आह्वान गर्दा ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २ अर्ब २० करोडमा हनुमान कन्स्ट्रकसनले ठेक्का पाएको थियो । तर पुस मसान्तभित्र निर्माण सम्पन्न हुनुपर्नेमा कुनै पनि ठाउँमा शतप्रतिशत काम सकिएको छैन् ।
नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने, ‘हामीले ८ वटा होल्डिङ सेन्टर बनाउने ठाउँमा सात वटा ठाउँमा मात्र निर्माणाधीन छन् । रुपन्देहीको वेलहियामा जग्गा उपलब्ध नभएकाले निर्माण हुन सकेको छैन् । बाँकी सात वटा सबैको भौतिक प्रगति ७५ प्रतिशतभन्दा माथि छ ।’
अहिले झापाको काकँडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, कपिलवस्तुको कृष्णनगर, बाँकेको नेपालगन्ज, कैलालीको गौरीफन्टा र कञ्चरपुरको गड्डाचौकीमा होल्डिङ सेन्टर निर्माणाधीन छ ।
सरकारले कुनै पनि बेला जोखिम आउनसक्ने कुरालाई ध्यानमा राख्दै बाहिरबाट आउने मानिसहरूलाई राख्ने गरि होल्डिङ सेन्टर बनाउने भनेको हो । अहिले ओमिक्रोन संक्रमण फैलिन सुरू गर्दा पनि होल्डिङ सेन्टर तयार भएका छैनन्, जसले गर्दा भारतबाट आउने मानिसहरूलाई होल्डिङ सेन्टरमा राख्न नसकिएको प्रवक्ता पौडेलले बताएका छन् ।
यसअघिका लहरहरूमा भारतबाट फर्किने नेपालीहरूबाट संक्रमण फैलिएपछि सरकारले भारतीय सीमा नाकानजिक होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । समयमै निर्माण सम्पन्न नहुँदा अहिले भारतबाट फर्किने मानिसहरू सिधै आआफ्ना घर जाने गरेका छन् । जबकी ती मानिस संक्रमणको उच्च जोखिममा छन् ।
पछिल्लो समय भारतमा दैनिक लाखौं संक्रमित भेटिन थालेपछि स्वदेश फर्किने नेपालीहरूको संख्या बढेको छ । त्यसरी फर्किनेमध्ये केहीलाई मात्र एन्टिजेन परीक्षण गरेर बाँकी सबैलाई सिधै घर पठाइँदै आइएको छ ।
होल्डिङ सेन्टरको निर्माण सम्पन्न नभए पनि केही संख्यामा मानिसहरूलाई व्यवस्थापन गर्ने गरी अहिले पनि पूर्वाधार तयार भएको सैनिक प्रवक्ता पौडेल बताउँछन् ।
‘अहिले पनि निश्चित संख्यामा केही मानिसहरूलाई व्यवस्थापन गर्न सकिने गरी पूर्वाधार तयार छ । झापा र मोरङको कुरा गर्दा तीन सय जनालाई व्यवस्थापन गर्न सकिन्छ । त्यस्तै कुनै ठाउँमा दुई सय, कुनैमा डेढ सय र कुनै ठाउँमा सय जना लाई व्यवस्थापन गर्ने गरी अहिले नै पूर्वाधार तयार भइसकेको छ,’ उनले भने । हालसम्म कुनै पनि होल्डिङ सेन्टरमा भारतबाट आउनेहरूलाई राख्ने काम हुन सकेको छैन् । सैनिक प्रवक्ता पौडेलले समयमा बजेट निकासा नहुँदा निर्माण कार्यमा ढिलाइ भएको जनाए ।
‘सुरूमा २९ करोड भन्दा बढी रकम खर्च हुन सकेन। त्यसपछि नयाँ निकासा आउन समय लाग्यो । पछि नयाँ निकासा पनि जम्मा ७० करोड आयो,’ पौडेलले भने, ‘अहिले थप एक अर्ब बढी बजेट माग गरेका छौं । स्वीकृत हुने प्रक्रियामा छ भन्ने जानकारी पाएका छौं ।’
अहिले पनि होल्डिङ सेन्टर निर्माणको काम चलिरहे पनि कहिले सम्पन्न हुन्छ भन्नेमा अन्यौल हुदाँ नाकाबाट संक्रमण भित्रीने त्राससंगै जोखिम बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर