झापा । अन्न भण्डारको रुपमा परिचित झापामा पछिल्लो समय नयाँ तथा उन्नत जातको नगदे बाली खेती तर्फपनि किसानहरु आकर्षिण हुन थालेका छन् । धान, मकै, गँहुलगायतका रैथाने अन्नबालीबाट दुःख सुख खान मात्रै पुग्ने गरेको भन्दै अहिले यहाँका किसानहरु व्यवसायिक रुपमा नै फर्म दर्ता गरेर कृषि क्षेत्रबाट मनग्य आम्दानी गर्न लागिपरेका छन् ।

यसैबीच मेचीनगर–१० की भावना अधिकारी (पोख्रेल)ले पनि “प्याराडाइज कृषि र्फम” दर्ता गरेर अहिले व्यवसायिक ड्रागन फ्रुट खेती सुरु गरेकी छिन् । मेचीनगर १० ढाटस्थित पूर्वपश्चिम राजमार्गदेखि करिब ५० मिटर उत्तरमा करिब ३ बिगाहा जमिनमा उनले हाइब्रिड ‘सी’ भेराइटीको ड्रागन फ्रुट खेती सुरु गरेकी छिन् ।

१३ महिना अघिसम्म कहिले धान खेती त कहिले बाँझै रहने उक्त खेतमा हाल ड्रागन फ्रुट फुलिरहेको देख्न सकिन्छ, भने कतै हुर्कँदै गरेका देखिन्छ । झट्ट हेर्दा ड्रागन फ्रुट मात्रै देखिएपनि त्यहाँ पुगिसकेपछि विभिन्न प्रजातिका माछासहितको पाँचवटा माछा पोखरी, कुखुरा, हाँस, बट्टाई, बाख्रा पालन समेत गरिएको देखिन्छ, भने ड्रागन फ्रुटसँगै मेवा र खरबुजाको समेत खेती गरिएको छ ।

भारतको हैदरावाददेखि बिरुवा मगाएर शुरुआत गरिएको यो खेतीमा केही समयपछि आफैं बिरुवा उत्पादन गरिने समेत भावना बताउछिन् । नेपाल कृषि प्रधान देश भएकाले वैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमै सम्भावना रहेको र अबको युवा पुस्ताले देशमै कृषि क्रान्ति गर्नुपर्ने उनको भनाइ छ ।

आधुनिक तथा अर्गानिक खेतीमा हाल दैनिक पाँचजनाले प्रत्यक्ष तथा दर्जनबढीले अप्रत्यक्ष रुपमा रोजगारी गरिरहेका उनको फर्ममा हालसम्म १ करोड २० लाख रुपैयाँ लगानी भइसकेको बताइन् । निकट भविस्यमै उक्त स्थानमा गाई पालनदेखि एग्रो टुरिज्मको रुपमा समेत विकास गर्ने उद्देश्य रहेको समेत उनी बताउँछिन् ।

नेपाल कृषि प्रधान देश भएकाले बैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमै सम्भावना रहेको र अबको युवा पुस्ताले देशमै कृषि क्रान्ति गर्नसक्ने उनको बुझाइ छ । भावनाका अनुसार फूल फुलेको ३० देखि ३५ दिनभित्र फल पाकेर खानको लागि योग्य हुने र यो फल टिपेर राख्दा १०/१५ दिनसम्म नबिग्रिने हुन्छ ।

गर्मी स्थानमा बढी हुने यो फल बैशाख अन्तिम देखि असोज अन्तिमसम्म फल दिने र वर्षमा चार लटसम्म फल्ने गर्दछ । यस फलमा फूल फुल्ने, कोपिला लाग्ने र फल फल्ने क्रम एक साथ चलिरहन्छ ।

ड्रागन फ्रुट रोपेको २२ देखि २५ वर्षसम्म उत्पादन लिन सकिने भएको कारण सुरुवातमा केही कठिनाइ भएपनि फल दिन थालेपछि खासै मेहनत गर्न नपर्ने भावना बताउँछिन् ।

‘ड्रागन फ्रुट रसिलो, गुलियो र स्वादिलो फल हो । स्वास्थ्यका लागि अत्यन्तै उपयोगी एन्टिअक्सिडेन्टयुक्त यो नयाँ फल भएकाले पनि उपभोक्ताले बढी रुचाउँने गरेका छन् । प्रति केजी ६ सयदेखि ८ सयसम्ममा बिक्री हुने ड्रागन फ्रुटको बिरुवा एक पटक लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिंचाई बाहेक अन्य केही गर्नु नपर्ने तथा लामो समयसम्म फल दिने हुनाले अन्न खेतिवालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने उनी बताउँछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर