
चैत्र २४,खोटाङ ।नेकपा एस खोटाङका उपाध्यक्ष नरेश राई सहित विभिन्न पार्टी परित्याग गरि ५१ जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । आइतवार नेकपा एमाले दिप्रुङ चुईचुम्मा गाउँपालिका कमिटीले आयोजना गरेको जरा केन्द्रित अभियान जागरण सभा तथा क्यालेन्डर विमोचन कार्यक्रममा नेकपा एस खोटाङका उपाध्यक्ष नरेश राई र नेपाली काँग्रेसका नेता राजकुमार पौडेल सहित विभिन्न पार्टी परित्याग गरि ५१ जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशी नेता–कार्यकर्तालाई एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज बिशाल भट्टराई,केन्द्रीय सदस्यहरु उषाकला राई,खगेन्द्र राई लगायतले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । नवप्रवेशीहरुलाई क्षमताको आधारमा पार्टीको जिम्मेवारी प्रदान गरिने पोलिटब्युरो सदस्य भट्टराईले बताउनुभयो ।
सामाजिक सञ्जाल र बिभिन्न माध्यम मार्फत एमालेमाथि आक्रमण गर्ने र गालीगलोज गर्नेहरुलाई गाउँ‐गाउँमा आएर एमाले प्रतिको जनताको आकर्षण बुझ्नलाई पोलिटब्युरो सदस्य बिशाल भट्टराईले चेतावनी दिनुभएको छ । ‘गाउँ‐गाउँमा एमाले प्रति जनताको आकर्षण बढ्दो छ,केहि अराजक व्यक्तिहरुले सामाजिक सञ्जालमा गालिगलोज गर्दैमा एमालेको पंक्तिलाई कति पनि असर नपर्ने भट्टराईले दावी गर्नुभएको छ ।’
दिप्रुङ चुईचुम्मा गाउँपालिका क्षेत्रभित्रका ऐतिहासिक महत्व बोकेको धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको तस्वीर र पार्टीले गरेका विभिन्न कार्यक्रमहरुको तस्वीर समावेश गरेर गाउँपालिका कमिटीले प्रकाशन गरेको क्यालेन्डर विमोचन गरिएको थियो । त्यस्तै,कार्यक्रममा ३५ जना जेष्ठ नागरिकलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा पोलिटब्युरो सदस्य भट्टराई,केन्द्रीय सदस्यहरु उषाकला राई,खगेन्द्र राई,एमाले कोशी प्रदेशका सदस्य चर्चबहादुर बिश्वकर्मा, एमाले खोटाङका निवर्तमान अध्यक्ष रामप्रसाद दंगाल,जिल्ला उपसचिव राजन बञ्जारा, सचिवालय सदस्य तथा दिप्रुङ चुईचुम्मा गायँपालिकाका अध्यक्ष लोकेन्द्र राई,उपाध्यक्ष अरुणा थापा मगरले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो । पालिका कमिटी अध्यक्ष मनोज राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपसचिव भूपेन्द्र बस्नेतले गर्नुएको थियो ।