गत असोज महिनामा भएको हत्या घटनामा एक निजी स्कुलका सञ्चालक मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । योजनाकार फरार रहेपनि घटनामा संलग्न अन्य ३ जनालाई भने प्रहरीले ६ महिनापछि पक्राउ गरेको छ । शव भने अहिलेसम्म बरामद हुन सकेको छैन् ।

 

गत असोज ६ गते पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–३ पिडरहनीका ४० वर्षीय गोबिन्द धोवीको हत्या भएको थियो । पक्राउ परेका अभियुक्तको बयानका आधारमा प्रहरीले मुख्य योजनाकार बर्दघाट नगरपालिकाको मझौनीस्थित न्यू ड्रिम एकेडेमी स्कुलका सञ्चालक मुन्ना कहाँर रहेको प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए । उनी फरार छन् । मृतक गोबिन्दका छोरा सोही स्कुलमा अध्ययनरत थिए । सामान्य व्यवसाय गर्ने गोबिन्दसँग रकम भएकोले अपहरण गरी फिरौती रकम असुल गर्ने मुन्नाको योजनामा हत्या गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भई पक्राउपर्नेमा रामग्राम नगरपालिका–२ दुर्गा टोलका २६ वर्षीय सुदिपकुमार केवट, सुस्ता गाउँपालिका–१ वनदेवीका ३५ वर्षीय वीरबहादुर राजभर र बर्दघाट नगरपालिका मझौनीका सुरेन्द्र कहाँर रहेका छन् । सुरेन्द्र र मुन्ना कहाँर बाबु छोरा हुन् ।

हत्याको योजनासहित मुन्नाले बोलाएपछि भारतीय नम्बर प्लेटको आफ्नै गाडी चढेर गोबिन्द एक नास्ता पसलमा पुगेका थिए । उक्त नास्ता पसल हत्यामा संलग्न वीरबहादुरको हो । मादक पदार्थबाट मातेका सबै गाडीमा चढेर हिडेको र बाटोमा गोबिन्दलाई गाडीभित्री घाँटीमा गम्छाले बाँधेर हत्या गरेको खुलेको हो ।

हत्या पश्चात शवलाई नारायणी नदीको ठोकर नं. ६ मा लगेर फालेको अभियुक्तहरुले प्रहरी समक्षको बयानमा बताएका छन् । ६ महिनाअघि नदीमा फालिएको शव प्रहरीले गोताखोर लगाएर खोजतलास गरेको थियो । तर शव फेला पर्न नसके पनि हत्या स्विकारेकाले उनीहरु माथि कर्तव्य ज्यानमा मुद्दा चलाइएको प्रहरी उपरीक्षक यादवले जानकारी दिए ।

प्रमाण नष्ट गर्ने सोँचका साथ अभियुक्तहरुले उक्त गाडी सुनवल नगरपालिकाको फरौलीस्थित कच्ची सडकमा जलाएर छाडेका थिए । ‘फिंगर प्रिन्टका आधारमा पक्राउपर्ने डरले गाडीलाई जलाएको बयान दिएका छन् ।’ प्रहरी उपरीक्षक यादवले भने ।

अभियुक्तहरुले डेढ करोड रुपैयाँ फिरौती रकम माग्ने सोँचका साथ उनलाई अपहरण गरेको र पछि पहिँचान खुल्ने डरले हत्या गरेको साविती बयान दिएको प्रहरीले जनाएको छ ।

रुपन्देहीकी एक महिलासँग भएको मोबाइलको कल डिटेलका आधारमा अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर