काठमाडौं, २२ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ८८ दिनपछि आज (शुक्रबार) मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार मन्त्रालय भागबण्डामा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् । थपिएका मन्त्रीहरूले आज शपथ खाँदै छन् । बिहीबारको सहमति बमोजिम आज ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र अपराह्न ४ बजे शपथ समारोह हुने भएको बालुवाटार स्रोतले जनाएको छ ।

सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाएका छन् । साथै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक-एक जना राज्यमन्त्री पनि पाएका छन् । गठबन्धनका पाँच दलमध्ये राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई बाहिरबाटै सहयोग गर्ने भएको हो ।

एसलाई कानुन मन्त्रालयको सट्टा स्वास्थ्य मन्त्रालय तथा प्रदेश १ र वाग्मतीमा मुख्यमन्त्री दिने सहमति भएको छ । एसका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा भएको सहमतिबारे स्थायी कमिटी बैठकमा जानकारी गराएको महासचिव बेदुराम भुसालले बताए ।

‘चार मन्त्रालय, एक राज्यमन्त्री, प्रदेश १ र वाग्मती प्रदेशको मुख्यमन्त्री लिने सहमति भएको छ,’ उनले भने । यसअघि एकीकृत समाजवादीलाई कानुन मन्त्रालय दिइएको भए पनि त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै सिफारिसका व्यक्तिलाई मन्त्री बनाउन खोजेका थिए । एकीकृत समाजवादीले सरकारमा जाने विषयमै पुनर्विचार गर्नककपर्ने अवस्था आउने चेतावनी दिएपछि गठबन्धन बैठकले मन्त्रालय बाँडफाँटमा हेरफेर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर