खोटाङ,३ जेठ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत आयोजित खुला राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीका कवि किरण सिवा प्रथम भएका छन् ।बिहिबार हलेसीस्थित होटल जाम्बालामा आयोजित प्रतियोगितामा १५ जना प्रतिस्पर्धालाई पछि पार्दै कवि सिवाको ‘बिर्खे दमाईको आवाज’ शीर्षकको कविताले रु ४० हजार राशीको खुला राष्ट्रिय कविता प्रतियोगिता–२०८१ को उपाधि जितेको हो ।
प्रतियोगितामा भोजपुरका कवि सङ्ग्राम किरातीको कविता ‘बाध्यता कि रहर’ दोस्रो, उदयपुरका जीवन चाम्लिङ राईको ‘भरिया दाइ’ तेस्रो, सिन्धुलीका बाबुराम श्रेष्ठ ‘यात्री’को कविता ‘छम्कली रोकाया’ चौथो तथा भोजपुरकी शकिला राईको ‘म यात्री मनको’ कविताले पाँचौँ स्थान प्राप्त थियो । कविता प्रतियोगिताका विजयीलाई क्रमशः नगद रु ४० हजार, रु २५ हजार, रु १७ हजार, रु ११ हजार र रु सात हजार प्रदान गरिएको सह–आयोजक टेम्के तुवाचुङ प्रतिस्ठानका अध्यक्ष भोगेन राईले जनाकारी दिनुभएको छ ।
उद्घाटन कार्यक्रममा कवि तथा साहित्यकार जसराज किरातीलाई साहित्य लेखनको माध्यमबाट समाज रुपान्तरणमा पु¥याउनुभएको योगदानको कदर स्वरुप रु ११ हजार १११ नगदसहित दोसल्ला ओढाएर ताम्र पत्रले सम्मान गरिएको आयोजकले जनाएको छ ।महोत्सवको साहित्य विद्यातर्फ खुला राष्ट्रिय कविता प्रतियोगिता सञ्चालन गर्ने जिम्मा रावासावा प्राज्ञिक समाज नेपाल र टेम्के तुवाचुङ प्रतिष्ठानले लिएको छ । खुला राष्ट्रिय कविता प्रतियोगिता कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त साहित्यकारहरुले आ–आफ्नो साहित्य सिर्जना प्रस्तुत गरेका थिए ।
११ दिनसम्म सञ्चालन हुने महोत्सव अन्तरगत वैशाख–३१ गते सोमबार एथ्लेटिक्स विद्याका प्रतियोगिताहरु सम्पन्न भएको छ । महोत्सव अन्तरगत जेठ–६ गते खुला गायन प्रतियोगिता तथा जेठ–८ गतेदेखि १० गतेसम्म राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, वादोरिया कराँते र आयोजकसहित ११ टोली सहभागी हुने आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव डा. धनप्रसाद सुवेदी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, वरिष्ठ कवि तथा साहित्यकार जसराज किराती लगायतले नगद तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।