असोज ४,खोटाङ । जिल्ला भलिबल संघ खोटाङको अध्यक्षमा दिलचक्र राई सर्वसम्मत चयन हुनु भएको छ । आइतबार दिक्तेलस्थित शुभदिन होटलमा सम्पन्न संघको दोस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

अधिवेशनबाट संघको उपाध्यक्षद्वयमा रजिन राई र लालमान राई तथा महासचिवमा गोपाल साम्पाङ राई सर्वसम्मत चयन हुनु भएको हो ।त्यस्तै, कार्यसमिति सदस्यहरूमा शुकदेव राई, सुजन राई, मनिषा विक, किरण वालेम राई, धनन्जय राई र विशाल राई चयन हुनुभएको छ ।

संघको कोषाध्यक्ष पद भने कार्यसमितिको पहिलो बैठकबाट महिला मनोनित गरेर पूर्ति गरिने जनाइएको छ । त्यस्तै, जिल्ला खेलकुद विकास समिति खोटाङले नयाँ कार्यसमितिमा थप दुई जना सदस्य मनोनित गर्ने जनाइएको छ । जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष धनकुमार राईको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष मिलन कसजुको प्रमुख आतिथ्यता र अन्तर्राष्ट्रिय भलिबल रेफ्री चन्द्रवन्दना राईको विशेष आतिथ्यतामा जिल्ला अधिवेशन सम्पन्न गरिएको हो ।


