झापा – ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ । यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पक्षी रुफ्स नेक्ड हर्नबिल (नेपाली नाम–हङरायो)को कीर्तिमानी तस्बिर खिच्न सफलता मिलेको छ ।
पहाडमा पाइने पाङ्ग्रो एक प्रकारको लहरे वनस्पतिको फल हो । जो ज्यादै कडा र चराले खान नसक्ने आकारको हुन्छ । उखानअनुसार एउटा चरा छ, जसले पाङ्ग्रो देख्नेबित्तिकै हतार–हतार खान्छ । मानिसहरूले हतारमा कुनै वस्तु खाँदा ‘हाङ्ग्रोले पाङ्ग्रो’ निलेकोझैँ भनेर उखान जोड्ने चलन छ ।
चरा खोजकर्ता खरेलले इलामको सूर्योदय नगरपालिका–१ सीमधापमा यही पुस ६ गते एक जोडी ‘हङरायो’को तस्बिर खिच्नुभएको हो । लोप भएको ठानिएको यो चरा नेपालमा १९२ वर्षपछि उहाँले खिचेको हुँदा यसलाई ठूलो उपलब्धिका रूपमा लिइएको छ ।
नेपालमा चराका विषयमा खोज गरेका ब्राइन हड्सन नामका विदेशी विज्ञले सन् १८२९ मा नेपालमा ‘हङरायो’ भेटिएको उल्लेख गरेका थिए । त्यसयता नेपालमा यो पक्षीको अस्तित्व कसैले पुष्टि गर्न सकेको थिएन । विज्ञहरुले विभिन्न दस्ताबेजमार्फत यो चरा नेपालमा लोप भइसकेको जानकारी दिने गरेका थिए ।
चरा खोजीमा रुचि राख्दै आउनुभएका मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी वाइल्ड लाइफ फोटोग्राफर खरेललाई चराविद् कमल मादेनले ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान सुनाउँदै नेपालमा हङरायोको अस्तित्व हुनसक्ने बताउने गर्नुभएको थियो । मादेनले दिएको प्रेरणाका आधारमा नै उखान पछ्याउँदै जाँदा हङरायोको अस्तित्व पुष्टि गर्ने अवस्थासम्म पुर्याएको खरेलले बताउनुभयो ।
‘मादेन सरले मलाई हङरायो खोज्न प्रेरित गर्नुभयो, मैले पनि सानैदेखि ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान सुन्दै आएको थिएँ’, उहाँले भन्नुभयो,’त्यही हङरायोलाई गाउँतिर पाङ्ग्रो निल्ने हाङ्ग्रो भन्दा रहेछन् ।’ पत्रकार सम्मेलन गरी उहाँले आफूले खिचेका हङरायोका तस्बिर सार्वजनिक गराउनुका साथै नेपालमा भएका चराहरूको संरक्षण जरुरी भएको बताउनुभयो ।
‘हङरायो’ चरा अस्तित्वमा रहेको पुष्टि गरिदिएपछि चरासम्बन्धी खरेलको खोजको प्रशंसा भइरहेको छ । साथै पाङ्रा निल्ने दुर्लभ चरा पूर्वी नेपालमा डुलिरहेको छ भन्ने सत्य साबित भएको छ ।’चराको खोजीका लागि इलामको जङ्गलमा डुलिरहेका बेला अचानक अनौठो चराको जोडी पखेटा फट्फटाउँदै एउटा रुखबाट अर्को रुखमा उडेर गएको देखेँ’, खरेलले चरा भेट्टाउँदाको क्षण सम्झिँदै भन्नुभयो,’हत्तपत्त क्यामेरा निकालेर ४५ सट तस्बिर खिचेर हेर्दा नेपालमा लोप भइसकेको घोषणा गरिएको हङरायो पो रहेछ भन्ने थाहा भयो ।’