भद्रपुर – भद्रपुरमा एकैदिन चार वटा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले भद्रपुर वडा नम्बर ४, ६, ७ र १० मा निर्मित  स्वास्थ्य सेवा केन्द्रको आइतबार  छुट्टाछुट्टै कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।  प्रदेश सरकारको आर्थिक सहयोग र भद्रपुर नगरपालिकाको व्यवस्थापनमा विभिन्न दाताहरूले उपलब्ध गराएको निःशुल्क जग्गामा स्वास्थ्य केन्द्र निर्माण गरिएको छ ।
भद्रपुर नगरपालिकाका इन्जिनियर योगेन्द्र रन्जितकारका अनुसार , वडा ४ मा २२ लाख ९१ हजार ३ सय ५७ रुपैयाँ,  वडा ६ मा ३३ लाख ५४ हजार ४ सय ८४ रुपैयाँ, वडा ७ मा मा २२ लाख ५२ हजार ७५३ र वडा १० मा ३२ लाख ३ हजार ३ सय ६६ रुपैयाँको लागतमा तीन कोठा र एउटा शौचालय सहितको एक तल्ले पक्की भवन निर्माण गरिएको हो ।   ७ सय वर्ग फिटको स्वास्थ्य केन्द्रमा बरन्डा र फरक क्षमता भएकाहरूका लागि व्हील चेयर जान सक्ने गरी डिजाइन गरेर निर्माण गरिएको इन्जिनियर रन्जितकारले बताए ।
स्वास्थ्य सेवा केन्द्रको उद्घाटन कार्यक्रम सम्बन्धित वडा अध्यक्षहरूको सभापतित्वमा उद्घाटन सम्पन्न भएको हो । ७ नम्बर वडा अध्यक्ष विनोद प्रसाद पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा जग्गा दाता फुलसिंह राजवंशी र उनका सुपुत्र विकास राजवंशीलाई सम्मान गरिएको थियो । दाता राजवंशीले स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि २० लाख बढी मूल्य पर्ने एक कट्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् । कार्यक्रममा नगरपालिकाकी उपमेयर चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, वडा अध्यक्षहरू, कर्मचारी, जग्गादाता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर