असार ९,काठमाडौं । नेपाली चिया निर्यातमा भारतीय अवरोधपश्चात देखिएका समस्याहरूको पहिचान र समाधानका लागि सरकारले एक विशेष कार्यदल गठन गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको नेतृत्वमा गठित कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिवहरू सदस्य छन् ।

त्यस्तै भन्सार विभागका उप(महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक, र द्विपक्षीय व्यापार तथा पारवहन ९भारत० शाखाका उपसचिव सदस्य छन् ।
कार्यदलको सदस्य सचिवको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवलाई तोकिएको छ। कार्यदललाई चिया निर्यातका समस्याहरूको विस्तृत अध्ययन गरी आगामी तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझावसहितको प्रतिवेदन पेस गर्न २ साताको समय सीमा तोकिएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
