असार ९,खोटाङ । गएको २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ। कञ्चनपुरको लालझाडी गाउँपालिका–१ सुख्खडघाटमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री ४७ वर्षीया सरिया राना गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा असार ९ गते बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सिरहाको मिर्चैया नगरपालिका–१० मथलेश्वरस्थित भित्री सडकमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय अमित कामती घाइते भएका थिए। थप उपचारका लागि काठमाडौं लैजाने क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

सुनसरीको धरान उपमहानगरपालिका–१८ भोटेपुल–बुद्धचोक सडकखण्डमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँदा स्कुटर चालक २७ वर्षीय बुद्धबिर सिड्जाङ्बो गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको छ।
सल्यानको शारदा नगरपालिका–२ जोगीदेउ खोलास्थित राप्ती राजमार्गमा चलिरहेको बसको ढोकाबाट खसेर ४३ वर्षीय राजु बस्नेत घाइते भएका थिए। उनलाई थप उपचारका लागि नेपालगञ्ज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्।
सिरहाकै भगवानपुर गाउँपालिका–२ गमहरियास्थित हुलाकी सडकमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय पैदलयात्री सर्जु यादवको मृत्यु भएको छ। दुर्घटनापछि उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित वीरगञ्ज–पथलैया सडकखण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा नाम, थर र ठेगाना नखुलेका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको हो। साथै मोटरसाइकलमा सवार २० वर्षीय डिजेन जोशी र २० वर्षीय सभ्य अधिकारीको पनि उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। सबै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
