दमक /    झापाका किसानलाई यतिबेला धान थन्क्याउन भ्याइ नभ्याइ छ । यो पटक धान उत्पादन घटेको छ भने, मेसिनको काम हातले गर्नुपर्दा लगानी बढी भएको छ ।
धान पाक्नेबेलामा आएको वेमौषमी वर्षाले बर्बाद पारेको धानवाली थन्काउन हाते औजारको प्रयोग बढी गर्नुपरेकाले किसानलाई यतिखेर समस्या परेको हो । मेशीनको प्रयोगबाट धान थन्काउने धेरैजसो झापाका किसानहरु धान लडेपछि पराम्परागत तरिकाले धेरै जनशक्ति खर्च गरेर धान थन्काउँदा समस्या भएको बताउँछन् ।
एक विगाहा जमिनमा मेशिनले धान काट्दा एक घण्टा समय पनि लाग्दैन । त्यहि धान मानिसले काट्दा ८ देखि १० जना खेतालाले ६ घण्टा खट्नु पर्छ । तर यसवर्ष लडेको धान काट्न तेव्बर जनशक्ति खर्च हुने गरेको झापा दमकका किसान दुर्गाप्रसाद गड्तौलाले बताए । लडेको धान हातले काट्दा तेव्बर जनशक्ति लाग्ने गरेको छ ।
धान नपाकी नै लडेको क्षेत्रमा धानका बालासमेत लागेका छैनन् । पाके पछि लडेको धान बोटमै उम्रन थाले पछि थप समस्या हुने भएकोले पछिल्लो समय धान थन्काउने चटारो परेको दमक ३ का किसान विदुर भण्डारीले बताए । अघिल्ला बर्षहरुमा जिल्लामा एक साथ ठूला धान काट्ने मेसिन प्रयोग गरेर जिल्लाका धेरै जसो खेतीमा मेशिनबाटै धान काट्ने र थन्काउने कार्य गरिँदै आएको भएपनि यस बर्ष धान लडेका धेरै भागमा मेशिनबाट काटन नसक्ने अवस्था भएको गौरादह नगरपालिकाकी कृषि प्राविधिक घनमाया भण्डारीले बताइन् ।
झापा जिल्लामा यस बर्ष ८७ हजार ५ सय हेक्टरमा धान खेती भएको थियो, जसमध्ये १८ प्रतिशत झण्डै डेढ अर्व मूल्य बराबरको धान उत्पादनमा ह्रास भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले जानकारी दिए । यस बर्ष विउ उत्पादनमा खेती गर्ने किसानले समेत धेरै विउ उत्पादन गर्न नसकेको उनले बताएका छन् ।
यो वर्ष धान उत्पादनमा कमी आउने भएपछि ठूलो मात्रामा धान विदेशबाट आयात गर्नुपर्ने अवस्था आउने प्रमुख सिंहको भनाई छ । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा नेपालमा ५० अर्ब ७८ करोड रुपैयाँ बराबरको धान–चामल आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । जुन अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को भन्दा ५० दशमलव ९ प्रतिशतले बढी हो । नेपालले भारत, अमेरिका र चीनबाट धान–चामल आयात गर्दै आएको छ । अघिल्लो वर्ष सबैभन्दा बढी भारतबाट ५० अर्ब ४७ करोडको धान–चामल आयात भएको छ । त्यस्तै, अमेरिकाबाट २४ करोड तीन लाख र चीनबाट ६ करोड ७१ लाख मूल्य बराबरको धान–चामल आयात भएको तथ्यांक छ । यो वर्ष धानबालीमा पुगेको क्षतिका कारण उत्पादन कम भई आयात अझ बढ्न सक्ने प्रमुख सिंहले बताए ।
यो वर्ष पोहोरको भन्दा धान उत्पादन १० प्रतिशतले घट्ने देखिन्छ, जसको प्रभाव आर्थिक वृद्धिमा समेत पर्ने छ । धानबालीमा भएको ठूलो क्षतिले अर्थतन्त्रमै धक्का दिएको छ । उत्पादन ह्रासलाई मध्यनजर गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष ३० हजार टन धान खरिद गर्ने योजना तय गरेको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान विक्रि गर्ने किसानबाटनै कम्पनीले धान खरिद गर्न लागेको हो । चालू आर्थिक वर्षमा ३० हजार २ सय टन धान खरिद गर्न लागेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । धान खरिद गर्नका लागि ९५ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए ।
सरकारले निर्धारण गरेको समर्थन मूल्यमा किसानबाट धान खरिद गरेर उपभोक्तालाई सहुलियत मूल्यमा बिक्री गरिने उनले जानकारी दिए । गत वर्ष ६० हजार टन धान खरिद गर्ने लक्ष्य राखेको कम्पनीले धान नपाइएको भन्दै २७ हजार टन धान खरिद गरेको थियो । कम्पनीले प्रत्येक वर्ष किसानबाट धान खरिद गरेर सुपथ मूल्यमा उपभोक्तालाई बिक्री गर्दै आएको जनाएको छ ।
कम्पनीले गत वर्ष बिर्तामोड, दमक, विराटनगर, लहान, जनकपुर, वीरगन्ज, भैरहवा, तुलसीपुर, नेपालगन्ज, राजापुर, धनगढी, महेन्द्रनगर र जुम्लाबाट धान खरिद गरेको थियो । यो वर्ष पनि तराईका विभिन्न जिल्लाबाट धान खरिद गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर