खोटाङ, २१ कातिक । मेघराज धमला स्मृति प्रतिष्ठान खोटाङले ‘उत्कृष्ट प्रधानाध्यापक पुरस्कार–२०८२’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित जालपा आधारभूत विद्यालय सिरुवासका प्रधानाध्यापक राजाकर्ण राईलाई प्रदान गरेको छ । सामुदायिक विद्यालयको अध्यापन क्षेत्रमा पु¥याएको योगदान, शैक्षिक व्यवस्थापन, सामाजिक नेतृत्व तथा सेवाप्रतिको लगनशीलता, दक्षता र इमानदारीताको उच्च मूल्याङ्कन गर्दै प्रधानाध्यापक राईलाई आज शक्रबार दिक्तेलमा आयोजित कार्यक्रममा नगद रु ३० हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमको अवसरमा वि.स. २०७४ सालदेखि दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयमा प्रधानाध्यापकको रुपमा रहेर नियमित अध्यापनको काम गर्दै आउनुभएका स्वर्गीय प्रधानाध्यापक मेघराज धमलाले पढाउनुभएका विद्यार्थी ज्वाला अधिकारी र समिक्षा कार्कीलाई पनि प्रशंसापत्र तथा जनही नगद रु दुई हजार ५०० का दरले पुरस्कार प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले जानकारी दिनुभएको छ । पुरस्कृत प्रधानाध्यापक तथा विद्यार्थीद्धयलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का पोलिटबयूरो सदस्य विशाल भट्टराई लगायतले दोसल्ला ओढाएर नगदसहितको पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभएको हो ।

संविधानसभा सदस्यसमेत रहनुभएका एमाले नेता भट्टराईले प्रतिष्ठानले जिल्लाका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट प्रशासनिक कार्यसँगै शैक्षिक गतिविधि सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक राईलाई सम्मान गर्नुले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । “खेलकुद क्षेत्रमा अब्बल तथा कुशल खेलाडी, इमानदार र बौद्धिक सामाजिक व्यक्तित्वको रूपमा स्थापित स्व। प्रधानाध्यापक धमलाको कुनै रोग नभइ ३८ वर्षको उमेरमा मृत्यु हुनु दुःखद घटना हो । उहाँको निधन हुँदा खोटाङले एक कर्मशील शिक्षक गुमाएको छ,” उहाँले भन्नुभयो, “हामीले उहाँबाट सिकेका सकारात्मक कुराहरूलाई समाजमा कार्यान्वयन गर्न जरुरी छ । उहाँको स्मृतिमा स्थापना गरिएको अक्षयकोषबाट प्रधानाध्यापक राईलाई पुरस्कृत गर्दा सकारात्मक सन्देश प्रवाह भएको छ ।”

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा संविधानसभा सदस्यद्धय समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकी, नेपाली काँग्रेस खोटाङका नेता सुमनबाबु आचार्य, नेपाल शिक्षक महासङ्घ खोटाङका अध्यक्ष मीनकुमार दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईले कार्यक्रम शुभकामना मन्तव्य राख्नुभएको थियो । स्व। प्रधानाध्यापक धमलाको प्रथम स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमका वक्ताहरुले धमलाको निधनले एक कर्मशील शिक्षक गुमाएकोमा दुःख व्यक्त गर्दै उहाँको सकारात्मक कुरालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिएका छन् ।
स्व. प्रधानाध्यापक धमलाको वि.सं। २०८१ कातिक–२१ गते हृदयघातका कारण निधन भएको थियो । दिदीको हातबाट भाइटीका लगाएर काठमाडौँबाट खोटाङतर्फ फर्कँदै गर्दा मुटु दुःखेपछि धुलिखेल अस्पताल लगिएको थियो । त्यसपछि रेफर गरेर काठमाडौँस्थित गंगालाल अस्पतालमा पुगेपछि चिकित्सकले धमलालाई मृत घोषणा गरेको थियो ।
भाइटीका लगाएर घर फर्कने क्रममा ज्यान गुमाउनुभएका प्रधानाध्यापक धमलाको पार्थिव शरीर कातिक–२२ गते दिक्तेलस्थित घरमा ल्याएर अन्त्येष्टि गरिएको थियो । मृतक प्रधानाध्यापक धमलाका श्रीमती र दुई छोरी छन् । स्व. प्रधानाध्यापक धमलाका परिवार तथा आफन्त गरी २९ जना व्यक्तिले स्वेच्छिक रूपमा रु नौँ लाख ४५ हजार सङ्कलन गरेर मेघराज धमला स्मृति प्रतिष्ठान स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष एवम् मेघराजका दाजु यादव धमलाले बताउनुभएको छ । आगामी दिनमा अक्षयकोषको राशि बढाउँदै लैजाने र स्वर्गीय मेघराज धमला स्मृति अक्षयकोषको वार्षिक ब्याजबाट पुरस्कारको राशि बढाउँदै लैजाने योजना बनाइएको प्रतिष्ठानका अध्यक्ष धमलाले जानकारी दिनुभएको छ ।

