खोटाङ, २६ कातिक । नेपाल पत्रकार महासङ्घ खोटाङले विकास निर्माण र सुशासनका पक्षमा काम गर्न जिल्ला प्रशासन कार्यालय खोटाङको ध्यानाकार्षण गराएको छ । जिल्लाको विकास निर्माणमा भइरहेको ढिलासुस्ती र सुशासनका पक्षमा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले चासो नदिएको भन्दै नेपाल पत्रकार महासङ्घ खोटाङले आज बुधबार लिखितरुपमा जिल्ला प्रशासनको ध्यानाकर्षण गराएको हो ।

पत्रकार महासङ्घका अध्यक्ष हरिवोल आचार्यले हस्ताक्षर गर्नुभएको पाँच बुँदे ध्यानाकार्षणपत्रमा प्रमुख जिल्ला अधिकारी जिल्लाको अख्तियार प्रमुखसमेत रहेको अवस्थामा विकास निर्माण र सुशासनका पक्षमा खेल्नुपर्ने भूमिका नखेलेको आरोप लगाइएको छ । आवश्यक कागजात भएपनि नागरिकता लगायतका सेवा प्रवाहमा नागरिकले सास्ती भोग्नु परेको, निर्माण व्यवसायीका कारण जिल्ला अस्पताल खोटाङको निर्माणधीन भवन लगायतका विकास निर्माणका काम अलपत्र हुँदा पनि मौन बसेको, जिल्लामा दुईवटा बसपार्क निर्माण भएपनि बसपार्कमा सवारी साधन नलगी सडकमा पार्किङ गर्दा बजार कुरुपसँगै दुर्घटनाको जोखिम बढेको, सवारी साधनमा ट्राफिक नियम पालना नभएको र सवारी साधनले यात्रुबाट बढी भाडा लिएको जनगुनासो आएपनि नियमन निकाय मौन बसेको र बजार अनुगमन नियमित नहुँदा जथाभावी म्याद गुज्रेका सामग्री बिक्री वितरण भइरहेको तथा जिल्लामा सञ्चालित औषधि पसलहरुबाट नियम बिपरित औषधि बिक्री वितरण भएको जनगुनासोको आधारमा ध्यानाकार्षणपत्र बुझाइएको हो ,।

जिल्लामा क्रियाशील पत्रकारहरु पत्रकारमात्र नभइ स्थानीयवासीसमेत भएकाले नागरिकको गुनासो लिएर जिल्ला प्रशासन कार्यालयको ध्यानाकार्षण गराइएको नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष आचार्यले बताउनुभएको छ । “जिल्लामा क्रियाशील पत्रकारहरु सबै स्थानीयवासी छौँ । सबै समस्याको समाधान समाचार लेख्नुमात्र होइन”, उहाँले भन्नुभयो, “सुशासन कायम गराउने मामिलामा पत्रकारहरुको पनि भूमिका हुन्छ । त्यसैले जिल्ला प्रशासन खोटाङमाथि उठेका जनगुनासाहरु समेटेर प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई प्रत्याक्षरुपमा कार्यकक्षमै भेटेर ध्यानाकार्षण गराएका हौँ ।”

पत्रकार महासङ्घले बुझाएको ध्यानाकार्षणपत्र बुझ्नुहुँदै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बिगतमा भएका कमीकमजोरीलाई सच्याउँदै आगामी दिनमा सुशासनको पक्षमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । “पत्रकार महासङ्घको लिखित ध्यानाकार्षणले हामीलाई सच्चिने अवसर दिएको छ । तपाईहरुले उठाउनुभएको विषयलाई मिहिन ढङ्गबाट अध्ययन गरेर समाधानको बाटो खोज्ने छौँ”, उहाँले भन्नुभयो, “सुशासन कायम गर्नु हाम्रो कर्तव्य हो । यसबाट हामी विचल्लित हुँदैनौँ ।”

ध्यानाकार्षणपत्र लिएर पत्रकार महासङ्घका पदाधिकारी, निवर्तमान अध्यक्ष दिलिप खत्री, अग्रज पत्रकार कृष्ण आचार्य, तीनवटै पेशागत सङ्गठनका प्रमुखहरु र जिल्लामा क्रियाशील पत्रकारहरु प्रशासन पुगेका थिए । प्रमुख जिल्ला अधिकारीको ध्यानाकार्षण गराउन जिल्ला प्रशासन पुगेका पत्रकारहरुले कतिपय कर्मचारीले अझै पनि विभिन्न बहानामा सेवाग्राहीलाई दुःख दिने गरेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

?>