झापा — जघन्य प्रकारका अनुसन्धान, दैवी प्रकोप उद्धार, लागूऔषध जस्ता अनुसन्धानलाई छिटो निष्कर्षमा पुर्याउन प्रहरीले कुकुरको सहायता लिने गरेको छ । उक्त पाटोलाई प्रहरीले डग स्न्यापिङ भन्ने गरेको छ ।
कुनै पनि अनुसन्धान कहाँबाट शुरु गर्ने भन्ने अन्योल भएमा डग स्न्यापिङ कै कारण अनुसन्धानको गाँठो फुस्किएका धेरै उदाहरणहरु प्रहरीसँंग छ । अपराध अनुसन्धानमा कुकुरको प्रयोगले अनुसन्धानलाई प्रमाणमुखी बनाउनमा उल्लेख्य योगदान दिइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश १ मा रहेका अनुसन्धानमा पोख्त ६ वटा तालिमप्राप्त कुकुरहरूले धेरै अपराधीलाई कानूनी कठघरामा उभ्याउन सफल भएका छन् । १ नम्बर प्रदेश प्रहरी केनाइन शाखा धरानमा रहेका अनुसन्धानमा पोख्त कुकुरहरूमा लैला, पिकु, पारु; पिङ्कु, मेगी र मिकी रहेका छन् । यी ६ वटा कुकुर अपराध अनुसन्धानमा निपूर्ण रहेका छन् ।

२०४७ सालदेखि धरानमा दुईवटा कुकुरबाट स्थापना भएको डग शाखामा अहिले नौवटा कुकुरहरू छन् । विभिन्न विधाका तालिमप्राप्त ६ वटा कुकुर अहिले धरानको डग शाखामा छन् भने ३ वटा विराटनगर विमानस्थलमा तैनाथ छन् । लैला, पिकु, पारु, पिङ्की, मेगी, मिकी धरानमा र रक, ज्याक र स्विटी विराटनर विमानस्थलमा रहेका छन् । प्रदेश १ मा कार्यरत् आठवटा कुकुरमध्ये पिङ्कुबाहेक सबै पोथी कुकुरहरू हुन् । प्रहरीले अपराध अनुसन्धानलाई तथ्यपरक र प्रमाणमुखी बनाउन कुकुरको सहायता लिँदै आएको छ । कुकुरले धेरैलाई अपराध कर्म गर्नबाट हतोत्साहित समेत गरेको प्रहरीको भनाइ छ ।

वि.सं २०७७ साल पुस ३ गते झापाको मेचीनगर नगरपालिका–९ का पर्शुराम गौतमको हत्या भयो । हत्यामा संलग्न अपराधी भाग्न नसकून् र अनुसन्धान प्रभावकारी होस् भन्ने उद्देश्यले प्रहरीले कुकुरको सहायता लियो । त्यस्तै २०७७ साल फागुन १ गते उदयपरको त्रियुगा नगरपालिका–११ का वीरेन्द्र राईको हत्या, २०७७ साल असोज २९ गते इलामको माई नगरपालिका–१ का पुष्पलाल राईको हत्या, २०७७ साल भदौ १७ गते झापाको शिवसताक्षी नगरपालिका–११ का गोमनसिंह मगरको हत्या र २०७७ साल असोज ६ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की १२ बर्षीया मीना राईको हत्यामा संग्लग्नहरुलाई यिनै कुकुरहरुको सहायताले पक्राउ गरिएको थियो । यि त केहि प्रतिनिधीमुलक घटनामात्र हुन् । कुकुरको सहायताबाट अपराधी पक्राउ पर्ने क्रममा प्रहरीले सफलता प्राप्त गर्ने भएपछि आपराधिक मानसिकता भएका मानिसहरु निरुत्साहित भएको प्रहरीको विश्लेषण छ ।

अपराध अनुसन्धानमा पोख्त कुकुर

पिकु र लैला ः

जर्मन सेफर्ड जातका ट्याकर विधाका २ बर्षीया पिकु र ७ बर्षीया लैला । यी दुईवटा कुकुरहरुले अभियुक्तले छाडेको प्रमाण र सुराकको आधारमा भागेको स्थान ट्रयाक गरी अभियुक्त पहिचान गर्ने गर्छन् । पिकु बिगत एक बर्षदेखि फिल्डमा खटिँदै आएकी छ । लामो तालिम सम्पन्न गरेर फिल्डमा खटिएकी पिकुले विभिन्न घटनामा प्रहरी अनुसन्धानलाई ठूलै मद्धत गरिसकेकी छ भने लैला विगत ५ वर्षदेखि ट्रयाकर विधामा कार्यरत् छ ।

प्रदेश प्रहरीको अपराध अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालयहरुले लैलाको मद्धतबाट घटनाको सफल अनुसन्धान गरेको प्रहरीले जनाएको छ । केही महिनाअघि झापा, इलाम, भोजपुरलगायत जिल्लामा भएका कर्तव्य ज्यानसम्बन्धी मुद्दामा लैला र पिकुको सहयोगले घटनाको सफल अनुसन्धान र अभियुक्त पहिचान भएको प्रहरीले जनाएको छ । प्रदेशमा अहिले ट्रयाकर विधामा यी दुई कुकुर छन् । पिकुभन्दा लैला ड्युटीको हिसाबले सिनियर कुकुर भएको जनाइएको छ ।

पिङ्बु ः उमेर– ५ वर्ष

गोल्डेन रिट्रिभर जातको यो कुकुरले लागूऔषधको क्षेत्रमा काम गर्दै आएको छ । पिङ्कुले लुकाइछिपाइ राखेको गाँजा–चरेस सहित हेरोइन, कोरेक्स, लगायतका लागूऔषध बरामद गर्न सक्छ । सार्वजनिक बस, सीमा–नाका तथा विमानस्थलबाट लागूऔषध ओसारपसार भएको अवस्थामा पिङ्कुले सुँघेरै बरामद गराउने गरेको छ । विशेषतः चाडपर्व तथा निर्वाचनको समयमा पिङ्कुको सक्रियता बढाउने गरिएको छ ।

मिकी ः

१३ महिना मात्रै भएको मिकी बिपद् ब्यबस्थापन, खोजी तथा उद्धारमा सक्रिय हुने गरेको छ । यो जर्मन सेफर्ड जातको कुकुर हो । मिकी सर्च एन्ड रेस्क्यू विधामा कार्यरत कुकुर हो । अहिले तालिमकै सिलसिलामा रहेको मिकीले बाढी–पहिरो तथा भूकम्पले भत्काएको संरचनामा फसेका व्यक्तिहरूको सर्च एन्ड रेस्क्यू गर्ने गरेको प्रहरीले जनाएको छ ।

पारु, म्यागी, रक र ज्याक ः

१५ महिनाको पारु र ७ महिनाको म्यागी जर्मन सेफर्ड जातका कुकुर हुन् । उनीहरु बिष्फोटक पदार्थ खोजीमा अब्बल रहेका छन् । त्यस्तै बेल्जियम सेफर्ड जातकै रक र गोल्डेन रिट्रिभर जातको ज्याकलाई पनि सोही बिधामा खटाउने गरिएको प्रहरीले जनाएको छ । यी चारवटा कुकुरहरुले बिस्फोटक पदार्थसम्बन्धी विधामा आफ्नो कुशलता देखाउने गरेका छन् । बिस्फोटक पदार्थ राखेको वा लुकाएको ठाउँ सजिलै पहिचान गर्न सक्ने र विशेषतः भिआइपी सुरक्षामा यी कुकुरहरू परिचालित हुने गरेका छन् ।

पारु र म्यागी धरान तथा रक, ज्याक विराटनगर विमानस्थलमा खटाइएका छन् । लागूऔषध विधामा पिङ्कुमात्र होइन विराटनगर विमानस्थलमा कार्यरत स्विटीलाई समेत खटाइने गरिएको प्रहरीले जनाएको छ ।

यी दुईवटा कुकुरले गाँजा–चरेस सहित हेरोइन, कोरेक्स, लगायतका लागूऔषध बरामद गर्ने कार्यमा खटाइँदै आइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हत्या तथा बेपत्ता पारिएका दर्जनौं घटनामा प्रहरीले कुकुरकै सहयोग लिने गरेको प्रहरीले जनाएको छ । नेपालमा अपराध अनुसन्धानमा कुकुर खटाउन लागिएको ५२ वर्ष पूरा भइसकेको छ । यो समयमा कुकुरले थुप्रै अपराधी पत्ता लगाउन सहयोग पुर्याएको छ भने सम्भावित घटनाका बारेमा सचेतपनि गराएको छ । अपराधीको पहिचान गर्न होस् या सम्भावित दुर्घटनाबाट बच्न प्रहरीका लागि कुकुर भरपर्दो अनुसन्धान ‘अस्त्र’ बनेको छ ।

मानिसभन्दा ५० गुणा बढी सुँध्ने शक्ति भएका तालिमप्राप्त कुकुर घटना भएको २४ घण्टाभित्रै अनुसन्धानमा खटाउँदा ८६ प्रतिशतसम्म सफलता प्राप्त हुने कुकुर शाखाका प्रहरी नायब निरीक्षक दयानन्द श्रेष्ठको भनाइ छ । उहाका अनुसार सुँघ्ने क्षमताकै कारण अपराध अनुसन्धानमा कुकुरको मद्धत लिने गरिएको छ । १ नम्बर प्रदेश प्रहरी कुकुर शाखामा अहिले प्रहरी नायब निरीक्षकको कमाण्डमा १२ जना प्रहरी कार्यरत छन् । उनीहरूलाई डग ह्यान्डलर भनिन्छ । यिनै डग ह्यान्डलरहरूले कुकुरहरुको तालिम तथा रेखदेखमा सहजीकरण गर्ने गर्छन् ।

डग ह्यान्डलरहरूका अनुसार यी कुकुरले घटनास्थलमा छाडिएको प्रमाणलाई सुँघेर अपराधी पत्ता लगाउँछन् । घटनास्थल सकेसम्म सुरक्षित राखेर कुकुरलाई काम गर्न दिने हो भने प्रहरीलाई अभियुक्तसम्म पुग्न खासै समय नलाग्ने अनुसन्धानमा खटिने प्रहरीहरु बताउछन् । प्रदेश १ का १४ जिल्लाका जिल्ला प्रहरी कार्यालय मार्फत घटना अनुसन्धानका लागि आवश्यकता अनुसार कुकुर माग गरेपछि धरानस्थित १ नम्बर प्रदेश प्रहरी केनाइन शाखाले कुकुर टिम पठाउने गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर