बिर्तामोड । निर्माण व्यवसायी सङ्घ झापाको १४ औं साधारण सभा मङ्सिरको तेस्रो साता हुने भएको छ ।
सङ्घको यही कात्तिक २३ गते बसेको कार्यसमिति बैठकले साधारण सभा मङ्सिर २१ र २२ गते बिर्तामोडमा गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
यस वर्षको साधारण सभा चुनावी साधारण सभा भएकोले झापाका निर्माण व्यवसायीहरूले यसलाई निकै महत्त्वका साथ हेरेका छन् ।
साधारण सभाको उद्घाटन नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष रवि सिंहले गर्ने निर्णय भएको सङ्घका महासचिव ओम पौडेलले जानकारी दिए ।
अघिल्लो वर्ष नै साधारण सभा सम्पन्न गर्नुपर्ने भए पनि विश्वव्यापी महामारी कोरोना भाइरसको सङ्क्रमणका कारण साधारण सभा पछि धकेलिएको हो । कोरोना संक्रमण घटेर सार्वजनिक समारोहहरू हुन थालेपछि निर्माण व्यवसायी सङ्घ झापाले पनि साधारण सभाको मिति तय गरेको अध्यक्ष बस्नेतले बताए ।
वर्तमान कार्यसमितिले कोभिड–१९ का कारण उल्लेख्य काम गर्न नपाए पनि सङ्कटमा परेका व्यवसायीको राहतका पहलकदमी गरेको, निर्माण व्यवसायीहरूले काम सम्पन्न गरे पनि सरकारी भुक्तानी रोकिएकोमा सो भुक्तानी दिलाउन सङ्घले महत्त्वपूर्ण भूमिका खेलेको थियो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएका क्रियाकलापमा सङ्घको सक्रिय साथ–सहयोग रहेको थियो ।
हाल सङ्घमा २७६ निर्माण व्यवसायी आबद्ध रहेको सङ्घका कार्यालय प्रमुख ज्योति पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर