संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका नेता सुवास नेम्वाङले समयमै संविधान जारी नगर्न विभिन्न रूपमा दबाब आएको र त्यसलाई परास्त गरेर संविधान जारी गरेको बताएका छन् ।

नेकपा एमालेले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले पाँच वर्ष आठ महिना लगाएर संविधान बनाएको नेम्वाङले बताए ।

‘चाँडो नगर, ढिलो गर । किन तोकिएकै दिनमा संविधान बनाउनुपर्छ भन्ने, अरू धेरै धम्की आएको हो । संविधानसभाको म्याद त चार वर्ष छ त किन चाँडै संविधान जारी गर्नुपर्‍यो भनेका थिए,’ नेम्वाङले भने, ‘दश वर्ष संविधान नबनाउने संविधान सभाको अध्यक्ष हुनुभन्दा एक वर्षमा संविधान बनाउने संविधान सभाको अध्यक्ष हुँदा गर्व लाग्छ भनेको थिएँ ।’

संविधान सभा अध्यक्षलाई संविधानको मस्यौदा नबुझाउन भनेको पनि उनले स्मरण गरे ।

संविधान सभामा देशको नाम र राष्ट्रिय झण्डा फेर्नेसम्मको प्रस्ताव आएको नेम्वाङले बताए ।

‘नेपालको नामदेखि झण्डासम्ममा छलफल गर्‍यौं । नेपाल सुन्दर छ उपयुक्त छ भनेर निष्कर्षमा पुग्यौँ । तीनकुने झण्डालाई कुनै हिन्दू मन्दिरको, शासकको प्रतीक हुन सक्छ समेत भनियो । तर, घाम र जुन रहेसम्म नेपाललाई कसैले केही गर्न सक्दैन भन्ने निष्कर्षसहित राष्ट्रिय झण्डा पारित गर्‍यौं ।’

संविधान जारी भएको मिति उल्लेख नगरेको सन्दर्भ उल्लेख गर्दै नेम्वाङले भने, ‘कसैले इस्वी संवत्, कसैले विक्रम संवत्, कसैले यल संवत् लेखौँ भन्थे । यो विविधतालाई सम्मान गर्न संविधान जारी गरिएको मिति उल्लेख गरिएन ।’

अहिलेको संविधा स्रोत जनताले भएको उनले बताए । ‘संविधानको स्रोत जनता हुन् । यसअघिको संविधानको स्रोत राजा हुन् । सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिमूलक संविधान सभाले बनाएको भनेर घोषणा गरेका छौं ।’

संविधानमा उल्लेख भएका धर्मनिरपेक्षता, समावेशिता, शासकीय स्वरूपमा परिमार्जन हुन्छ कि भन्ने चर्चा हुन थालेको भन्दै नेम्वाङले भने, ‘ठूला दलहरूले परिमार्जन गर्न खोजेका छन्, यो परिमार्जन हुन्छ कि भन्ने पनि धेरैलाई लागेको छ । कुनै पनि जिम्मेवार पार्टीको प्रक्रियाको छलफलको अंग बनेको छैन । परिमार्जन हुने कुनै पनि सम्भावना छैन ।’

६ वर्षको अवधिमा संविधान सर्वस्वीकार्य बनाउन सकेको उनले बताए । सर्वसम्मतिमा संविधान संशोधन भएकाले सर्वस्वीकृत भएको उनले बताए ।

‘कोही–कोही साथीहरू आजको दिन नमनाउँ भनिरहनुभएको छ । केन्द्रीय सरकारमा हुनुहुन्छ । सरकार बनाउने खेलमा हुनुहुन्छ । तर, आजको दिन नमानौँ भन्नुहुन्छ । यो कस्तो राजनीति हो म बुझ्दिनँ,’ नेम्वाङले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर