काठमाडौं । नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टि-ट्वेन्टी आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । लिग चरणमा नेदरल्यानड्सले दिएको १ सय २१ रनको लक्ष्य १५ ओभर दुई बलमा पूरा गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपाल र नेदरल्यान्ड्सको समान चार/चार अंक भए पनि नेपाल नेट रन रेटमा पछि छ । तर नेपाल र नेदरल्यान्ड्सको नेट रन रेटबीचको फरक थोरै रहेकाले भोलि नेदरल्यान्ड्स पराजित भए ऊ नेपालभन्दा पछि पुग्नेछ । यता, नेदरल्यान्ड्सले जित दर्ता गरे पनि नेपाल सहजै फाइनल पुग्नेछ ।

त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको थियो । पहिलो ओभरमै करण केसीले ओपनर माइकल लेविट र स्याब्रान्ट एन्गलबेच्टलाई आउट गराए । चार रन मात्र बनाउँदा नेदरल्यान्डस् दुई विकेट नेपाललाई सुम्पिएको थियो ।

युवा बलर प्रतिस जिसीले ओपनर म्याक्स ओ डाउडलाई ३१ रनमा बोल्ड गरे । त्यसैगरी कप्तान स्टक एडवर्ड १८ रनमा बोल्ड भए । कुशल मल्लले नोआ क्रुस र आर्यन दत्तको विकेट आफ्नो नाम गरे । नेपालले घातक बलिङ र टाइट फिल्डिङलाई निरन्तरता दिने क्रममा दीपेन्द्र सिंह ऐरीले पनि एक विकेट लिए । सम्हालिने क्रममा रहेको नेदरल्यान्ड्सका टिम वान डर २४ रनमा दीपेन्द्रको सिकार भए । नेदरल्यान्ड्सका चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके ।

नेपालको लागि प्रतिशले तीन विकेट लिँदा करण र कुशल मल्लले दुईदुई विकेट लिएका थिए । जवाफमा नेपालले १५ ओभर दुई बलमा चार विकेट मात्र गुमाएर लक्ष्य पुरा गर्यो । कुशल भुर्तेल १२ रन र आसिफ शेख ८ रनमै आउट भए । खातामा २७ रन बनाउँदा नेपालले दोस्रो विकेट गुमाएको हो । दुवै विकेट भिभियन किङ्माले लिए । त्यसपछि गुल्सन झा र रोहित पौडेलले ८६ रनको साझेदारी गरे । रोहित ४६ र गुल्सन ३८ रनमा बाहिरिएका हुन् ।

नेदरल्यान्ड्सका किङ्माले तीन तथा आर्यन दत्तले एक विकेट लिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर