तीर्थराज भट्टराई

माझ किराँत दोर्पामा जन्मिएको ब्राह्मणको छोरो म । ४ दिदी बहिनी र ३ दाजुभाई मध्येको माइलो छोरो । म भन्दा अगाडि तीन दिदी र पछाडी दुई बहिनी गरेर ५ जनाको नवजात शिशु हुँदै गएको थियो प्राण । ४ दिदी र ३ भाइ मध्ये अहिले छौं ५ जना जिवित । पिताजी लक्ष्मीप्रसाद २०६० माघ १० गते,जेठी देवी दिदी ४ वर्ष र दाजु गुणराज उमेर हुदै बित्नुभयो १० वर्ष अगाडि । खार्पा, रूभुंग जिमुवाल महानन्द र रेणुका पोखरेलका ५ छोरा र ५ छोरी मध्ये पहिलो सन्तानको रूपमा जन्म भएको हो,मेरी आमाको । वंशाणुगत भएकोले हुनसक्छ खार्पाली पोखरेलको धाक र रवाफको थोरै अंश छ,आमासंग अहिले पनि । न डराउनु हुन्छ कसैसँग न छ हिम्मतमा नै कमी । ८७ वर्षको उमेरमा पनि आमाको जोश र जागर छ एक हल गोरूले साएको खेतमा धानको विउ रोप्ने । पढाईमा निरक्षर तर गुण रत्नमाला छ पुरापुर कण्ठस्थ । वेदका मन्त्र र गीताका श्लोक पनि भन्न सक्नुहुन्छ लयसगै । घण्टौंसम्म सक्नुहुन्छ श्लोक र मन्त्रोचारण गरिरहन । ओहो ! आमाको त्यो अद्भुत क्षमताको म सधैं गर्छु स्यलोट । हुन त १९७६ साल असोजमा बाम्रांग, कट्टीका धरणीधर र जमुना खतिवडाको कोखबाट जन्मनु भएको हजुरआमाको आशिर्वाद लिन पाईरहेका छौं,१०५ वर्षको उमेरमा अहिलेसम्म । मानिस चिन्न नसके पनि अरूको सहयोगमा भित्र बाहिर गर्नुहुन्छ हजुरआमा ।

जब म कोरिया पुगें अनि सम्झिएं आमाले परिवारमा पुर्याउनु भएको अनुकरणीय योगदान र मलाई दिनुभएको अतुलनीय ममतालाई । मेरी मात्र होइन सबै सबै आमासँग न कपट हुन्छ न छलछाम नै । हुन्छ त केवल परिवार प्रतिको दायीत्व र निर्वाह गर्नुपर्ने कर्तब्य वोध । आफू भोकै बसेर भएपनि छोराछोरीलाई गाँस काटेर खुवाउने अनुकरणीय वात्सल्यता । कोरियामा मैले ७९ वर्षिय स्थानीय आमा भेटें र ढोगें हातमा अनि सम्मान पूर्वक मारे अंगालो । भलै मलाई जन्म दिने आमा होइन उहाँ तर सबै आमाको एउटै धर्म र प्रेमभाव हुन्छ सन्तान प्रतिको । सब्जी बेचेर समयको सदुपयोग गर्नुहुदो रहेछ उहाँले । कोरियाको त्यो मुटु हल्लाउने जाडो तर श्रम प्रतिको सम्मान छ,त्यो उमेरमा पनि । बाध्यताले होइन कर्तव्य पुरा गरेको जनाउ दिनुभयो मलाई । काम गर्ने उत्साह र जागर छ म सँग अनि किन सुतेर रहने घरमा ? आमाको यस्तो जवाफ आएपछि म भने भएं नाजवाफ । ७९ वर्षिय आमाको काम प्रतिको सम्मान र उर्जा लिंदै आशिर्वाद थापेर त्यहाँबाट विदा भएं म । घुम्नेक्रममा कोरियाको दुर्गम गाउँ गिमच्योन पुगेपछि मैले आमा र मेरो शालनाल गाडिएको पवित्रथलो दोर्पा चिउरीडाँडाको गरें सम्झना र प्रेम पूर्वक भावहरू उतारें कपि र मनको डायरीमा ।

मेरो गाउँको विविध भाषिक तथा मौलिक संस्कृति ,जातिय सहिष्णुता , पर्यावरणीय तथा अन्य प्राकृतिक सौन्दर्यताका हिसावमा हुनै सक्दैन दोर्पासँग गिमच्योनको तुलना । कैंदलेको कलकल चिसो पानी , हर्रेको दुध जस्तै तागतिलो र लुभु खेत जो सैयौं मानिसको प्राण जोगाउने जलासय युक्त ठाउँबाट उम्रिएको शुद्ध पानी पाउने कुरै भएन कोरियामा । वर्षौंदेखि ठिंग उभिएको ठूलढुंगा, आध्यात्म मार्फत अनुशासनको मर्यादामा राखेर सत्चरित्र सिकाउने साधुको कुटी , सिरानीमा रहेको ज्योतिको पुन्ज विद्योदय मावि र प्रकृति पुजक किराँती दाजुभाईको पवित्र थलो साकेला थानको चौघेरा भित्र जन्म भई हुर्किएको हुनाले यहाँको मौलिकपन संग त त्यहाँको तुलना हुने कुरै भएन । तर यथार्थमा भन्दा आधुनिक प्रविधि र विकासका हिसावले भने दोर्पाको त के कुरा गर्नु र नेपालको राजधानी काठमाडौं भन्दा पनि धेरै अगाडि पाइयो सुदुर दुर्गम गाउँकाहरू पनि ।

 

फोहोर व्यवस्थापन,आधुनिक र व्यवस्थित पिच रोड,स्वास्थ,शिक्षा,संचार तथा विद्युत सेवा विस्तार र प्रविधि युक्त अनुकरणीय जीवनशैली । हामी पुगेको ठाउँमा पुरानो शैलीका कलात्मक घर,खुल्ला चौर,सफा र आकर्षक बगंैचा तथा आफैंमा छन् ठाउँ ठाउँका नमुना खेल मैदानहरू । सैकडौं उद्योग कलकारखाना र कृषि गर्नका लागि बनेका हजारौं प्रविधि युक्त टनेल खेति । यी र यस्तै थिए आधुनिक नमूना मोडल र दुर्गम गाउँका गिमच्योनमा बनेको थियो विकासक्रमको मोडेलको आधारशिला ।
कोरियामा विलकुलै शुद्ध दोर्पालीको हिसाबले मनन् गर्दा मेरो राजनीतिक सामाजिक विकासका लागि माननीय पूर्व न्यायधिश एकराज खनाल र डा. तोयानाथ खनाल एवम् नेत्रप्रकाश आचार्यको जस्तो पारिवारिक वौद्धिक खुराक , पर्खनबहादुर राई , शहरमान राई र महन्त राईको जस्तो अविभावकत्व र जोशीचन्द्रको जस्तो हिम्मतिलो साथीबाट पाइरहेको साथ कोरियामा विर्सिने कुरै भएन मैले । हाल धरानमा बस्ने दाजु पर्वत राईले टाढै बसेर दिईरहनुभएको संरक्षण पनि राजनीतिमा सन्तुष्टिको एउटा आधार स्तम्भ हो, मेरो लागि । सगैमा लामो समयदेखि खोटाङ काग्रेंसको राजनीतिमा कुनै न कुनै ढंगले छुट्टै छाप बनाउन सफल गाउँले हिसावले भाइ र पारिवारिक हिसावले सानोवुवा ससुरा सुमनबाबु आचार्यबाट पनि पाएको छु विगतदेखि नै प्रशस्तै सहयोग र सद्भावको भारी । पिताजीका राजनीतिक सहकर्मी समाजसेवी काका भोगजित राई, उदय राई ( सीतेम्पा ) पिताम्बर आचार्य , वीरबहादुर बुढाथोकी, माने डाँडाका मौले सार्कीको सधैंभरी हृदयदेखि नै मैले पाएं आशिर्वाद ।

राजनीतिमा मलाई यो तहसम्म पुरÞ्याउन दर्जनौं गाउँका युवा , अग्रज पुर्खा, समाजको वौद्धिक भनेर चिनिने गुरू काशिराज राई , कुमार खनाल लगायत अन्य शिक्षक , होमनाथ खनाल र हरिकाजी राई तथा अन्य कर्मचारी साथीहरु र वर्तमान वडा सभापति समृत राई र वडाध्यक्ष हरिप्रसाद चौलागाई तथा गलाका धनी पदम हिंगमांगलाई विर्सियो भने किर्तघ्नताको पराकाष्ट नै हुनेछ जीवन जिउनका लागि । हेम प्रधान , निर्मला ढकालदेखि उदयमान लोकनाथ खनाल र प्रतिक आचार्यको पनि भरपुर छ साथ र सहयोग निरन्तर । समाजलाई सधैं शिरोपर गर्ने थापा गाउँका कृष्ण थापा , नेतृ संगिता भुजेल , सुंगुरूवाका विराज राई, रंकुका मागदल राई ,सुलिपाखाका डडाक सिं राई , मुलडाँडाका लक्षुमन राई र ढुंगेका भाइ दलबहादुर राई , सुंगुरूवाका विराज राई, छितातालका चक्र गुरूंग , जेपी राई, कलात्मक सिप तथा अद्भुत् क्षमताका धनी चक्र प्रधान र बरिष्ठ मेहनति भाइ धनबहादुर परियारमा कति ठूलो प्रेम छ मेराप्रति । यो मैले प्रतिकात्मक रूपमा ७ नं. वडाका मात्रै उल्लेख गरेको हो सिमित नाम । भलै यसमा पनि मैले सबै मित्र साथीहरुको नाम लेख्न सकिन यस प्रति म आत्मालोचित छु तथापि मेरो मनमा जगजाहेर छ उहाँकाहरू प्रतिको छुट्टाछुट्टै सम्मान र मैले पुरा गर्नुपर्ने कर्तव्य बोधको जिम्मेवारी ।

गत स्थानीय निर्वाचनमा गाउँलेको हिसावले होस् या गठबन्धनका हिसावले होस् ध्रुव बहादुर बुढाथोकीले पाउनै पर्ने मेयरको टिकट सहज रूपमा त्याग गरेर मलाई जिताउन खेल्नु भएको भूमिका कम प्रशंसनीय छैन । त्यसैगरी हामी सबैका आदरणीय नेता, समाजसेवी देवराज राईको म प्रतिको स्पष्ट दृष्टिकोण र एमालेका युवा नेता दिलचक्र राई र वडाध्यक्षका उम्मेद्धार मनोज राईको मौन गतिविधिले पनि नगरप्रमुख हुनलाई कतैनकतै सहयोग पुगेको अनुभूति छ मलाई । विष्लेषक तथा समाजसेवी भाइ वालकृष्ण राई तथा वुढाथोकी गाउँका मनोज भुजेलको गहिरो अनुपम प्रेम पाएको छु मैले ।

अंश र वंशको हिसावले टाढा तर भावनाका हिसावले विगतदेखि नै मनमुटु गासिएको मेरो अनन्य मित्र साहित्यकार भाइ श्रीराम राईले पटक–पटक लेख्न सजग गराई रहनुभएको कारणले नै यो लेखन विधालाई निरन्तरता दिन हौसला मिलि रहेको छ मलाई । कोरियामा हुदा भालेको डाकमा मेसेन्जरमा फोन गरेर नियात्रा तयार हुदैछ दाजु भनेर मलाई सजग गराउदा मेरो छाति फुलेर कत्रोभयो होला म व्यक्त गर्न सक्दिन यहाँका ।यदाकदा मैले लेख्नुको पछाडिको ठूलो हिस्साको श्रेय श्रीरामजीलाई जान्छ नै तर दोर्पाली परिवारका सदस्य मध्ये मलाई लेख्न उत्साहित गर्ने आदरणीय दाजु बाबुराम आचार्य तथा द्वय गुरू शिवहरी ढकाल र धनिराम राईलाई पनि लेखन विधाको प्राधिकार भित्र गासेर आभारी हुनैपर्छ मैले ।छिटो बोल्ने र लेख्ने मानिस सधैं आलोचित हुन्छ तर त्यसो भन्दैमा चटक्कै छोड्न पनि भएन यो लेख्ने विधालाई ।

११ वर्षको उमेरमा विवाह बन्धनमा गासिनु भएकी मेरी पूज्यनीय आमा पद्मकुमारीले घर व्यवहार र गर्नुभएको दुःख मैले मनन् मात्रै गर्ने हो तर अन्य देख्ने र स्वयं भुक्तभोगी आमाले वेलावेला सुनाउनु भएको वेदनायुक्त वाणिले कठोर हृदय भएका मानिसको आंखाबाट समेत बर्बरी झरेको हुनुपर्छ वेदना भित्रबाट निचोरिएर निस्किएका आंशुका निला ढिक्का । हुन त समयको हिसावले पनि होला ऊ बेला मानिसको शिक्षा, स्वास्थ , यातायात लगायतका कारण सबैको नै थियो कष्टकर जीवन यापनको अवस्था । तर त्यसमा पनि विशेष गरेर व्राह्मण – क्षेत्री समुदायका बुहारीले घर– समाजमा भोग्नैपथ्र्यो यो नरकीय जीवन । बुहारीलाई दोस्रो दर्जाको नागरिकको हुन्थ्यो ब्यवहार । यी सबै चुनौति र असहजतालाई पारगर्दै सकुशल नौ दशक नजिक पुग्नु भएको आमाको मन कति निश्चल छ सन्तान प्रति । दिनहु सम्झिरहने आफ्ना सन्तानलाई र अविभावकत्वमा कहिल्यै हुन नदिने कमी । पिताजीको स्वर्गारोहणपछि आमा एक्लो हुनुभयो तर कहिल्यै एक्लोपनको महशुस हुन दिनुभएन सन्तानलाई।

अन्त्यमा , जव मैले कोरिया जानका लागि आमासंग आशिर्वाद थापें तब दिनुभयो सोच लिएर हिडेको काम पुरा होस् र यात्राले सफलता पाओस् भनेर। हिड्ने समयमा सानासाना विषयमा यात्राका क्रममा अपनाउनु पर्ने सजगता र पुरागर्नु पर्ने तयारीलाई मिहिन ढंगबाट औंल्याउनुले अझ मलाई गरायो व्यवस्थित हुन । ‘.र कमि कमजोरीलाई सच्याउने मिल्यो अवसर । गर्भाधारणदेखि अहिलेसम्म आमाले पुर्याउनु भएको अतुलनीय योगदान र त्यागलाई कोरियाबाट शिर झुकाएर गरें सम्मान र सझिएं आमालाई र सामाजिक पहिचान बनाउन अवसर दिने मेरो सालनाल गाडिएको ठाउँ चिउरीडाँडालाई ।।
(नियात्रा लेखक –दिक्तेल रूपाकोट मझुवागढीका नगरप्रमुख हुन् )

प्रतिक्रिया

सम्बन्धित खवर