
मंसिर ३०,खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा शिक्षकहरुको लागि दुई दिने क्षमता अभिबृद्धि तालिम शुरु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आयोजनामा पालिकाभर रहेका ४९ सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा गणित विषयका शिक्षकहरुको लागि क्षमता अभिबृद्धिका तालिमको आयोजना गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक तथा गणित विषयका शिक्षकहरुलाई शिक्षण सिकाई तथा कक्षाकोठा व्यवस्थापन, विद्यार्थीको निरन्तर मूल्याङ्कन पद्धति र गणित बिषयका शिक्षकहरुको क्षमता अभिबृद्धि गराउने उद्देश्यले तालिमको आयोजना गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणिकुमार गिरीले जानकारी दिए । शिक्षा शाखा प्रमुख गिरीका अनुसार शिक्षा विज्ञहरु जयकुमार राई, नारायणकृष्ण श्रेष्ठ र सिद्धराज मिश्रले तालिमको सहजीकरण गरिरहेका छन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईको अध्यक्षता तथा शिक्षा विज्ञ जयकुमार राईको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अरुणा थापामगर, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पिएस्पी चाम्लिङ राई, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नइन्द्र राई, राम्चे निकेतन मावि इजाराका प्रधानाध्यापक इश्वर लम्साल, दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष डम्बरबहादुर खड्का, वडा नम्बर ३ का वडाध्यक्ष भुपेन्द्र बस्नेत लगायतले तालिम सफलताको शुभकामना दिएका थिए ।
तालिम उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले एउटा प्रअ वा एउटा शिक्षकको इच्छाशक्ति भयो भने धेरै परिवर्तन गर्न सकिने बताउदै यस किसिमको तालिमले शिक्षकहरुलाई विद्यालयमा गई शिक्षण गर्न थप उर्जा मिल्ने भएकाले सिकेको सिपलाई विद्यालयमा प्रयोगमा ल्याउन शिक्षकहरुलाई आग्रह गरेका थिए ।