बिर्तामोड । झापामा उत्पादित माछाका भुरा सहज रुपमा उपलब्ध गराउन सक्षम भएपनि कोशी प्रदेशका धेरै स्थानमा भारतीय भुरा तस्करी गरी ल्याउने क्रम बढ्दै गएको छ ।

झापाका धेरै स्थानीय तहले भारतबाट आयातित माछा बिक्री बितरणमा रोक लगाएपछि कृषकहरुले नेपालमै माछाका भुरा उत्पादनमा जोड दिन थालेका छन् । नेपालमा उत्पादित भुरा गुणस्तरीय हुने उत्पादकहरुको दावी छ । पछिल्लो समय भुरासँगै माछा उत्पादन गर्दै आएका हेवन वाटर पार्कका सञ्चालक ध्रुव शिवाकोटीले उत्पादित भुरा गुणस्तरीय रहेको दावी गरेका छन् ।

शिवाकोटीका अनुसार झापा र मोरङलाई आवश्यक पर्ने भुरा उत्पादन गर्न आफ्नो फर्म सक्षम छ । ‘हामी नेपालमा फस्टाउने जुनसुकै जातको माछाको भुरा उत्पादन गर्न सक्षम छौं, शिवाकोटीले भने – ‘नेपालमा उत्पादित भुरा भारतबाट तस्करी भएर आउने भुरा भन्दा केही महंगो भएकै कारण केही व्यवसायीले भारतीय भुरा बजारमा बिक्री गर्दै आएका छन् । त्यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’ उनले करोडौं लगानी गरेको फर्म भएपनि राज्यले उचित नीति नबनाएका कारण त्यो लगानी जोखिममा रहेको बताए ।

एउटै जातको भुरा नेपालमा प्रतिगोटा ७ रुपैयाँसम्म पर्ने गरेको छ । भारतबाट आउने भुरा ५ रुपैंयाँसम्म प्रतिगोटामा पाइन्छ । नेपालको भन्दा केही सस्तो भएका कारण व्यवसायीले भारतीय उत्पादन बिक्री गर्दा नेपाली उत्पादकहरु मारमा पर्ने गरेका छन् ।

खुला सीमाका कारण तस्करी गरेर ल्याइने भुराका कारण मारमा परेको स्थानीय किसानको भनाई छ । सीमामा भुराका कार्टुन छिराउने र गाडीमा लोड गरेर विभिन्न ठाउँ पुराइने गरेको यहाँका पीडित किसान बताएका छन् ।

माछाका भुरा बिक्री गर्दै आएका पुर्णदेब सहनीसँग शिवाकोटीको भनाई बाझिन्छ । सहनीले भारतीय भुरा गुणस्तरीय हुने दावी गरेका छन् । माछाबाट माछा क्रश गरी उत्पादित भारतीय भुरा गुणस्तरीय हुने उनको दावी छ । नेपालमा भने हर्माेनद्धारा भुरा उत्पादन गरिंदै आएको छ । सहनीका अनुसार भारतको कोलकत्ताबाट केरियर मार्फत तीनदेखि चारदिनमा झापामा भुरा उपलब्ध हुन्छ । उनले भने – ‘नेपाली उत्पादनभन्दा अझै पनि भारतीय उत्पादनमा किसानले विश्वास गरेका छन् ।’

अर्का व्यवसायी शंकर चौधरीले पनि अवैधानिक तरिकाले नै नेपाली बजारमा किसानको माग अनुसार माछाका भुरा उपलब्ध गराउँदै आएको बताए । मोरङको बेलबारीमा आफ्नो माछा फर्म रहेको र त्यहीबाट किसानसम्म भुरा पु¥याउँदै आएको उनले बताए । केरियरले उनको फर्ममै चाहिए जति भुरा उपलब्ध गराउने गरेको चौधरीको भनाई छ । उनी आफै पनि नेपालमा भुरा उत्पादनको काम गर्दै आएका छन् ।

भारतबाट भुरा ल्याउनका लागि गरेको रोकावटप्रति चौधरीको असहमति छ । ‘औषधी हालेका, सडेका माछा आयात गर्न दिने, जिउँदो भुरा ल्याउन नदिने ? चौधरीले प्रश्न गर्दै भने– ‘उताबाट भुरा ल्याएर यहाँ बिक्री गर्दा किसानलाई पनि सस्तो पर्छ । त्यसकारण यसमा गरिएको रोकावट हटाउनु पर्छ । माछाका भुरा आयात गर्दा आवश्यक स्वास्थ्य जाँचसहित भन्सार तिरेर ल्याउन पाउनुपर्ने उनको भनाई छ ।

नेपालमा मुख्यतः पंगास, कमन कार्प, ग्रास कार्प, रौं नैनी लगायतका माछाको व्यवसायिक पालन हुने गरेको छ । यी सबै जातको माछाका भुरा झापाका फर्महरुले व्यवसायिक उत्पादन गर्दै आएका छन् । तर, नेपालमा केही महंगो लागतमा भुरा तयार हुने भएका कारण किसानले भारतीय भुरा खरिद गर्ने गरेको पाइएको छ ।

बिर्तामोडको इष्टर्न फिस उद्योगका सञ्चालक मोहन शिवाकोटीले यस बर्षदेखि नेपालमा उत्पादित भुरा खरिद गर्न थालेको बताए । उनले भारतीय भुरासमेत खरिद गर्नुपर्ने बाध्यता भने रहेको बताएका छन् । ‘अहिले किसानले माछाको वृद्धि कस्तो हुन्छ भन्ने मापन गर्न सकेका छैनन्, शिवाकोटीले भने – ‘नेपालमा उत्पादित भुरामा समस्या परेको अवस्थामा व्यवसायीसँग कुरा गर्न सकिन्छ । भारतबाट ल्याइएको भुरामा समस्या आए सुनुवाई हुँदैन ।’ हाल शिवाकोटीको फर्मबाट मात्र वार्षिक १ लाख केजीभन्दा बढी माछा उत्पादन हुँदै आएको छ ।

झापाका अर्का व्यवसायी कपिल न्यौपानेले भारतीय उत्पादनको तुलनामा नेपाली भुरा बढी गुणस्तरीय रहेको बताए । नेपाली वातावरणमा उत्पादन भएका भुरा र अर्कै हावापानीमा उत्पादित भुरामा धेरै फरक पर्ने उनको भनाई छ । हावापानी नमिलेर भारतीय भुरा आधाभन्दा बढी मर्ने गरेको दावी न्यौपानेको छ । उनले भने –‘नेपालमा उत्पादन गरिएका भुरा मर्ने सम्भावना कम हुन्छ । उत्पादन र लागतमा समेत सस्तो पर्छ ।’

भारतबाट मरेका माछा नेपाल ल्याउन केही स्थानीय तहले प्रतिबन्ध लगाएपछि झापामा माछा पालनमा कृषकको आकर्षण बढेको हो । झापा र मोरङमा उत्पादित माछाले कोशी प्रदेशलाई धानेर अन्य प्रदेशमा समेत पैठारी गर्ने गरेको व्यवसायीहरु बताउँछन् ।

भारतबाट ल्याइने माछालाई ताजा राख्नका लागि फर्मालिन प्रयोग गर्ने गरेको पाइएपछि स्थानीय तहले भारतीय माछा प्रतिबन्ध गरेका हुन् । फर्मालिनको प्रयोगले मानिसमा दीर्घरोग लाग्ने हुँदा त्यस्ता माछा नेपाली बजारमा प्रतिबन्ध गरिएको हो ।

माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको झापामा तस्करी मार्फत ल्याइने भुरा रोक लगाउनुपर्ने व्यवसायीको माग छ । यदि सरकारले यसमा कढाईँ गर्ने हो भने मात्र दीर्घकालिन रुपमा उपभोक्ता, किसान र व्यवसायीलाई फाइदा पुग्ने उनीहरुको भनाई छ । उनीहरुले सीमामा सुरक्षा कडाई गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर