खोटाङ, २१ वैशाख । दिक्तेल बहुमुखी क्याम्पस खोटाङको सञ्चालक समिति अध्यक्षमा संविधानसभा सदस्य दुर्गाजयन्ती राई चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसमेत रहनुभएकी संविधानसभा सदस्य राईलाई क्याम्पस सञ्चालक समितिको चौथो क्याम्पसभाले अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
क्याम्पस सञ्चालक समितिको उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का जिल्ला अध्यक्ष पूर्णकुमार राई ‘पिके खम्बु’ चयन हुनुभएको छ । सदस्यहरुमा नेपाली काँग्रेसबाट ध्यानबहादुर राई, प्रकाश श्रेष्ठ र दिनेश घिमिरे, (नेकपा एकीकृत समाजवादी)बाट राम बजगाईँ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट टीका खत्री चयन हुनुभएको छ ।
विधान अनुसार नौँ सदस्यीय क्याम्पस सञ्चालक समिति गठन गर्नुपर्नेमा दुईजना सदस्यको पद खाली राखेर अन्यको नाम निर्विरोध चयन भएको घोषणा गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले )सहमतिमा नआएपछि दुईजना सदस्य खाली राखेर समिति घोषणा गरिएको जनाइएको छ ।
क्याम्पस सञ्चालक समितिको पदेन सदस्यमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष, उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष र प्राध्यापक सङ्घको अध्यक्ष रहने व्यवस्था छ । सञ्चालक समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख हीराकुमार राई स्वतः चयन हुनुभएको छ ।
गत चैत–१८ गते उद्घाटन भएको क्याम्पसभामा नेतृत्व चयनका लागि राजनीतिक दलहरुबीच सहमति नजुटेपछि निर्वाचन समितिले वैशाख–९ गतेका लागि निर्वाचन मिति घोषणा गरेको थियो । सहमतिमा नयाँ नेतृत्व चयन गर्ने कसरत राजनीतिक दलमा भएपछि निर्वाचन समितिले पुनः वैशाख–१६ गतेका लागि अर्को मिति तोकेको थियो ।
निर्वाचन समितिले वैशाख–१६ गते गर्ने भनिएको निर्वाचनका लागि वैशाख–१४ गते नै उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको थियो । वैशाख–१४ गते उम्मेदवारी दर्तामा एमाले सहभागी नभएपछि निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्ने व्यक्तिलाई वैशाख–१६ गते अध्यक्ष, उपाध्यक्षसहित पाँचजना सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।
निर्वाचनको नतिजा घोषणा भएको छ दिनपछि निर्विरोध निर्वाचित समितिले बिहीबार औपचारिकरुपमा पदभार ग्रहण गरेको छ । एमाले बाहेकका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा आयोजित कार्यक्रममा पुरानो सञ्चालक समितिलाई बिदाई गर्दै नयाँ समितिले पदभार ग्रहण गरेको हो ।
क्याम्पस सञ्चालक समितिको कार्यकक्षमा पदभार ग्रहण कार्यक्रम सकिएपछि बसेको समितिको पहिलो बैठकले क्याम्पस प्रमुख एवम् सञ्चालक समितिका सदस्य सचिवको संयोजकत्वमा क्याम्पसको वृद्धि विकास गर्न आगामी योजना निर्माणका लागि तीन सदस्य उपसमिति गठन गरेको छ । समितिको सञ्चालक समितिका सदस्यमा ध्यानबहादुर राई र सहायक क्याम्पस प्रमुख कृष्णबहादुर राई रहनुभएको छ ।
हप्ता दिनभित्र कार्ययोजना बुझाउनेगरी उपसमिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष राईले बताउनुभयो । “जिल्लाको अग्रणी संस्था दिक्तेल बहुमुखी क्याम्पसको समग्र विकासका लागि कार्ययोजना बनाएर अगाडि बढ्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “आगामी कार्ययोजना निर्माणका लागि उपसमिति गठन गरिएको छ । उपसमितिले प्रतिवेदन बुझाएपछि सबैको राय तथा सुझाव लिएर कार्यान्वयनमा लैजान्छौँ ।”
वि.सं. २०३७ सालमा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा वि।सं। २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा शुरु गरेको थियो । जिल्लाकै ज्येष्ठ र अग्रणी क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसमा खोटाङ बाहेक ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरका विद्यार्थीसमेत अध्ययन गर्दै आएका छन् ।
समाचार हलेसी खबरबाट