५ चैत्र २०७९,ओखलढुंगा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामका विषयमा अब छलफल नहुने बताएका छन् । प्रदेशको नामाकरणले पहिचान नसमेटेको भन्दै प्रदेशभर आन्दोलन भइरहेका बेला नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुंगा आएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोशी नाम सर्वस्विकार्य नाम भएकाले तत्काल प्रदेशको नाम परिवर्तन नहुने बताएका हुन् ।

लामो समय नाम विहिन प्रदेशमा आफु मुख्मन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले कोशी नाम पारित गराएको बताउँदै मुख्यमन्त्री कार्कीले तत्काल नाम संशोधनका विषयमा छलफल समेत नहुने बताए । नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न उनले आग्रह गरे । ‘कोशी सबैको सभ्यता र पहिचानसँग मात्रै होइन मानव जीवनसँग पनि जोडिएको नाम हो । ९० प्रतिशत भन्दा बढी सांसदले पारित गरिसकेको यो नाम अब परिवर्तन त होइन नामकै विषयमा छलफल समेत हुँदैन ।’

उनले भने, ‘हिजो नाम भएन भन्नेहरु आज नाम मन परेन भनेर आन्दोलन गर्दैछन् यस्तो बाटोमा हिडेर गन्तव्यमा पुगिन्न । बरु प्रदेश कसरी समृद्ध बन्छ त्यो सुझाव दिनुस् ।’ प्रदेशको नाम शंसोधन गर्न आन्दोलन गर्नेहरुले जिताएर पठाएकै सांसदहरुले कोशी प्रदेश नामाकरण गरेको भन्दै मुख्यमन्त्री कार्कीले सांसदको प्रस्तावमा राखिएको नामका विषयमा सरकार विरुद्ध आन्दोलन गर्नुको औचित्य नभएको बताए । देशमा राजनीतिक स्थायित्व नहुँदा नेपालीहरुले दुःख पाएको बताउँदै उनले अब राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा लाग्नुपर्ने बताए ।

पूर्वमन्त्री अम्बिरबाबु गुरुङले ओखलढुंगामा गरेको विकास निर्माणको कामलाई प्रशंसा गर्दै मुख्यमन्त्री कार्कीले पुराना आयोजनालाई सम्पन्न गरिने र नयाँ योजनालाई उत्पादनसँग जोडिने बताएका छन् । कृषि आधुनिकिकरण, पर्यटन प्रवद्र्धन र युवा स्वरोजगारका कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकता दिने मुख्यमन्त्री कार्कीको भनाई थियो ।

कार्यक्रममा प्रदेश सरकारका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्बोले नागरिकका आधारभुत आवश्यकताहरु तत्काल पुरा गरिने बताए । स–साना योजना र थोरै बजेटबाट नागरिकका धेरै अपेक्षा पुरा गर्न सकिने बताउँदै उनले किसानको खेतबारी बाँजो नरहनेगरि कृषि उद्यमका कार्यक्रम ल्याउन कर्मचारीलाई निर्देशन दिए । खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले विशेष योजना ल्याएको बताए ।

सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा, भगवती मन्दिर रुम्जाटार पार्कको उद्घाटन, रुम्जाटार बौद्ध गुम्बा लामा क्वाटर भवन, सिंचाई आयोजनाहरुको स्वामीत्व हस्तान्तरण, शहरी विकास तथा भवन कार्यालय भवन र मनमोहन तालिम केन्द्रको भवन शिलान्यास, ठाडे–जन्तरखानी सडक खण्ड र सामुदायिक भवन तलुवाको भवन उद्घाटन गर्न मुख्यमन्त्री ओखलढुंगा आएका हुन् । पूर्वमन्त्री अम्बिरबाबु गुरुङले ल्याएका यि योजनाहरु आयोजनाहरु उद्घाटन गरेर प्रदेश फर्कने मुख्यमन्त्रीको कार्यक्रम छ ।

कार्यक्रममा प्रदेश सरकारका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, उषाकला राई, प्रदेश सांसद प्रदिपकुमार सुनुवार लगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर