विराटनगर । प्रदेश १ का १४ जिल्लाका स्थानीय तहका १६३ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन्। यस प्रदेशमा १ महानगरपालिका‚ २ उपमहानगरपालिका‚ ४६ नगरपालिका र ८८ गाउँपालिका रहेका छन्। जसका १ हजार १५७ वडा छन्।

पार्टी विभाजन भएपछि दल रोज्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र दुई जिल्ला समन्वय समितिका प्रमुखसहित १६३ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका हुन्। प्रदेश १ को सबै बढी जनप्रतिनिध भएका जिल्लाहरु झापा, मोरङ र सुनसरीमा एमालेमा विभाजनको प्रभाव कम देखिएको छ। यी जिल्लाहरुमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु नगन्य संख्यामा मात्र एकीकृत समाजवादीमा लागेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा जिल्ला समन्वय समिति सदस्य पदम लिम्बू र शिवसताक्षी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष नवीन इजमलगायत विभिन्न स्थानीय तहका गरी जम्मा सातजनाले मात्र एमाले छोडेर एकीकृत समाजवादी रोजेका छन्।

मोरङमा चारजना वडाध्यक्ष र चार जना वडा सदस्यसहित आठजनाले मात्र एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। बुढीगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष काशिम मियाँ, वडा नम्बर ५ का वडाध्यक्ष रमेशकुमार खनाल, उर्लाबारी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मचिन्द्रकुमार कार्की र रतुवामाई नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष टंकप्रसाद ढकालले एकीकृत समाजवादी पार्टी रोजेका हुन्।

यस्तै‚ सुनसरीको इटहरी गाउँपालिकाका कार्यपालिका सदस्य र स्थानीय तहका पाँच जना वडा सदस्यसहित छ जनाले मात्र एकीकृत समाजवादी पार्टी रोजेका छन्।खोटाङ जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ र जिल्ला समन्वय समितकि संखुवासभाका प्रमुख सुमन शाक्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।

ताप्लेजुङ, धनकुटा र इलाम जिल्ला समन्वय समितिका उपप्रमुखले पनि नेकपा एमाले परित्याग गरेका छन्। जिल्ला समन्वय समिति इलामकी उपप्रमुख चित्रकला बराइली, धनकुटाका उपपमुख बंगला राई र ताप्लेजुङका उपप्रमुख देवीमाया नेपालीले एकीकृत समाजवादी रोजेका हुन्। प्रदेश १ बाट पाँच जना जिल्ला समन्वय समिति सदस्यहरुले एमाले छोडेर समाजवादीको पक्षमा सनाखत गरेका छन्।

स्थानीय तहमा राम्रो उपस्थिति रहेको एमालेका अधिकांश जनप्रतिनिधिहरु विभाजनको पक्षमा लागेनन्। प्रदेश १ बाट दुई नगरपालिकाका पमुख र दुई उपप्रमुखले मात्र एकीकृत समाजवादी रोजेका छन्। इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले एकीकृत समाजवादी रोजेका हुन्। यस्तै‚ भोजपुर नगरपालिकाका उपप्रमुख ममिता राई र खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठले पनि एकीकृत समाजवादी रोजेका छन्।

यस्तै‚ तीन गाउँपालिका अध्यक्ष र तीन जना उपाध्यक्षले नेकपा एमाले परित्याग गरेका छन्। इलामको माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई, तेह्रथुमको आठराई गाउँपालिकाका प्रमुख मानबहादुर लिम्बु र उदयपुरगढी गाउँपालिका प्रमुख मानबहादुर केप्छाकी मगर एकीकृत समाजवादीमा लागेका हुन्। भोजपुरको टेम्केमैयुम गाउँपालिकाका उपाध्यक्ष इन्द्रावती राई, ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका उपाध्यक्ष कल्पना तुम्बाहाङफे र आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराई पौडेलले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।

प्रदेश १ का विभिन्न स्थानीय तहका ३४ जना वडाध्यक्ष विभाजनको पक्षमा लागेका छन्। ताप्लेजुङबाट पाँच जना वडाध्यक्षले एकीकृत समाजवादी रोजेका छन्। मेरिङ्देन गाउँपलिका–६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू, वडा नम्बर ३ का वडाध्यक्ष गणेशप्रसाद भण्डारी, मैवाखोला गाउँपालिका–२ का वडाध्यक्ष सुरेन्द्र लिम्बू, आठराई त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष डम्बरबहादुर लिम्बू र फुङ्लिङ नगरपालिका–२ का वडाध्यक्ष मोहन न्यौपानेले एकीकृत समाजवादी रोजेका हुन्। ताप्लेजुङबाट २१ जना जनप्रतिनिधिले पार्टी छोडेका हुन्। पाँचथरको कुम्मायक–२ का वडाध्यक्ष भक्तबहादुर विक र फालेलुङ गाउँपालिका–१ का वडाध्यक्ष श्रीप्रसाद जबेगुले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। पाँचथरबाट निर्वाचित एमालेका ११ जना जनप्रतिनिधिले नयाँ दल रोजेका हुन्।

इलामको सूर्योदय नगरपालिकाका ९ जना वडाध्यक्ष नेकपा एकीकृत समाजवादीमा लागेका छन्। एमालेबाट विजयी भएका १० मध्ये ९ वडाध्यक्ष विभाजनको पक्षमा लागेका हुन्। यस्तै माइजोगमाई गाउँपालिकाका एक जना वडाध्यक्षले पनि एकीकृत समाजवादी रोजेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। इलामका ५८ जना जनप्रतिनिधिले नयाँ दल रोजेका छन्। तेह्रथुमको मेन्छयायम गाउँपालिका–५ का शिवनाथ खापुङले पनि नयाँ पार्टी रोज्दै सनाखत गरेका छन्। तेह्रथुमबाट दुई जना जनप्रतिनिधिले मात्र एमाले छोडेका छन्।

यता धनकुटामा जिसस उप्रमुखसहित ८ जनाले एकीकृत समाजवादी पार्टी रोजेका छन्। पाख्रिबास ४ का वडाध्यक्ष सोभित निरौला, साँघुरीगढी गाउँपालिका–३ का अध्यक्ष राजकुमार राई र शहीदभूमि गाउँपालिका–३ का वडाध्यक्ष योगेन्द्र राईले विभाजित दल रोजेका हुन्। भोजपुरको षडानन्द नगरपालिकाका कार्यपालिका सदस्यहरु सुमन राई र गोविन्द विकले एमाले छोडेका छन्। भोजपुर नगरपालिकाका उपप्रमुखसहित ६ जना नयाँ पार्टीमा लागेका हुन्।

खोटाङ जिल्लामा जिसस प्रमुखसहित ११ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। बराहपोखरी ४ का वडाध्यक्ष भुवलराज राईसहित विभिन्न पालिकाका ७ जना वडा सदस्यहरु समाजवादी तर्फ लागेका हुन्। ओखलढुङ्गामा एक जना कार्यपालिका सदस्यले मात्र एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् भने सोलुखुम्बुमा एकीकृत समाजवादी निर्वाचित जनप्रतिनिधिविहीन बनेको छ। यहाँका कसैले पनि नयाँ पार्टी नरोजेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नम्रता चुडालले जानकारी दिइन्।

यता उदयरपुरमा त्रियुगा नगरपालिकाका प्रमुख र उदयपुर गाउँपालिकाका अध्यक्ष र ५ जना वडाध्यक्षसहित २८ जनाले नयाँ पार्टीको पक्षमा सनाखत गरेका छन्। उदयपुरगढी–७ का वडाध्यक्ष कर्णमाय मगर, कटारी–९ का वडाध्यक्ष बेगबहादुर आले, लिम्चुङ्बुङ गाउँपालिका–५ का वडाध्यक्ष गुरुमणि कुमाई, त्रियुगा नगरपालिका–३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी र त्रियुगाК१३ का वडाध्यक्ष पशुपति चौधरीले एकीकृत समाजवादी रोजेका हुन्। थाहाखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय