सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा यही फागुन ११ गतेदेखि धरान एक्स्पो हुने भएको छ ।
सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा फागुन ११ देखि २० गतेसम्म धरान रंगशालामा एक्स्पो संचालन हुन लागेको हो ।
प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा आयोजना गरिएको धरान एक्स्पोमा ११३ वटा स्टल रहने कार्यक्रम संयोजक गोपाल श्रेष्ठले बताउनुभयो । उहाँले एक्स्पोमा धरानको अर्ग्यानिक बेसार, कालो बङुर, लोकल रक्सी र जिल्लाभरीका कृषि उत्पादनलाई बिक्रीमा राखिने बताउनुभयो ।
धरान एक्स्पोमा मनोरञ्जनका कार्यक्रमहरु पनि रहने हरेक दिन राष्ट्रिय स्तरका कलाकारले आफ्नो प्रस्तुती दिने कार्यक्रमका प्रचार सचिव शशी साहले बताउनुभयो ।
दैनिक ३० हजार जनाले अवलोकन गर्ने धरान एक्स्पोबाट करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको संघका कोषाध्यक्ष प्रभाव खतिवडाले बताउनुभयो । उहाँले स्थानीय उत्पादनसँगै धनकुटा, इलाम, तेह्रथुम लगायतका पहाडी जिल्लाको उत्पादनलाई समेत प्राथमिकता दिएर बिक्री वितरणका लागि राखिने बताउनुभयो ।