खोटाङ । अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको पहिलो खेल नेर्पा भर्सेस इनरुवा बिच हुने भएको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा पुष १७ देखि २४ सम्म हुने प्रतियोगितामा नेर्पा स्पोर्टस क्लब नेर्पा र एजुकेटेक इनरुवा इभेन्ट सुनसरी बिच प्रतिस्पर्धा हुने भएको हो ।
माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी केएफए को सह–आयोजनामा हुने प्रतियोगिताको बुधबार दिक्तेलको माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुलमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले खेल तालिका सार्वजनिक गरेको हो ।
दोश्रो खेल दिक्तेल फुटबल क्लब र खोटाङ फुटबल एकेडेमीबिच हुनेछ, तेश्रो खेल चियाबारी फुटबल क्लब इलाम भर्सेस दिप्रुङ चुईचुम्मा गाउँपालिका र खारम्बु स्पोर्टस क्लब खार्मी भर्सेस मानेभन्ज्याङ स्पोर्टस क्लब ओखलढुंगाबिच हुनेछ । नेर्पा स्पोर्टस क्लब नेर्पा र एजुकेटेक इनरुवा इभेन्ट सुनसरीमध्ये विजेतासँग साकेला गाउँपालिका र दिक्तेल फुटबल क्लब र खोटाङ फुटबल एकेडेमीमध्ये विजेतासँग मितेरी युवा क्लब मोरङ खेल्ने मूल आयोजक समिति संयोजक सागर जोशीले बताउनुभयो ।
गोल्डकप विजेताले दुई लाख ५१ हजार, उपविजेताले एक लाख ११ हजार, सेमिफाइनलिष्ट दुई टिमले २५÷२५ हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मूल आयोजक समिति जनाएको छ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट टिम प्रशिक्षकले नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । अनुशासित टिमले नगद पाँच हजार ५५५ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । मेन अफ द टुनामेन्ट र सर्वाधिक गोलकर्ताले नगद सात हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने, हरेक प्रतियोगिताका म्यान अफ द म्याचले नगद दुई हजार पुरस्कार प्राप्त गर्नेछन् ।
गत संस्करणहरुको बाँकी रकम,विभिन्न दाता, स्थानीय सरकार र व्यापारिक कम्पनीको प्रचारप्रसारबाट आर्थिक व्यवस्थापन गरेर प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ । माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत अनुप राईको २०६८ जेष्ठ २ गते दिक्तेलस्थित पुरानो बैंकचोक नजिक सवारी दुर्घट्नामा ज्यान गएपछि उनको सम्झनामा प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप गरिदै आएको आयोजकले जनाएको छ ।