खोटाङ । सत्ता गठबन्धन बिरुद्ध नेपाली कांग्रेसले खोटाङमा छुट्टै उम्मेद्वारी दर्ता गराएको छ । सिट बाँडफाँडमा खोटाङ कांग्रेसलाई अन्याय गरेको भन्दै संघ र प्रदेश सभा ‘क’ मा कांग्रेसले स्वतन्त्र उम्मेद्वार दर्ता गराएको हो ।
एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लामा एक प्रदेश सभा मात्र आफ्नो भागमा परेपछि कांग्रेसले असन्तुष्टि जनाएको हो । सत्ता गठबन्धनको शीर्षस्थ निर्णय अनुसार प्रतिनिधि सभा नेकपा माओवादीको भागमा परेको छ । यस्तै, प्रदेश सभा ‘क’ एकीकृत समाजवादी र प्रदेश सभा ‘ख’ नेपाली कांग्रेसको भागमा परेको छ ।
केन्द्रको उक्त निर्णयप्रति आपत्ति जनाउदै जिल्लाका कांग्रेसका शीर्षस्थानका नेताहरुले केन्द्रीय समितिलाई पत्र पठाए पनि पत्रको कुनै वास्ता नगरेपछि जिल्ला सभापति, पूर्वसभापति, महाधिवेशन प्रतिनिधि लगायतको समर्थनमा पुर्व राज्य मन्त्री सर्वधन राईले प्रतिनिधि सभामा र महाधिवेशन प्रतिनिधि सुबास कुमार पोखरेलले प्रदेश सभा ‘क’ मा उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेश ‘क’ मा कांग्रेसकै अर्का महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलले पनि उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रदेश सभा ‘ख’ मा भने गठबन्धनबाट नेपाली काँग्रेसका १ नं प्रदेशका महामन्त्री भुपेन्द्र राईले टिकट पाएर उम्मद्वार दर्ता गराएकाले कांग्रेसले स्वतन्त्र उम्मेद्वार दिएको छैन् ।
प्रतिनिधि सभा र एक प्रदेश सभा अर्थात दुवै प्रदेश सभाको दावी गर्दै आएको खोटाङ कांग्रेसले एक प्रदेश सभा मात्र भागमा पाएपछि बिद्रोह गरिएको जिल्ला सभापति विष्णु कुमार राईले बताउनुभयो । स्थानीय तहको चुनावमा सबै भन्दा ठुलो पार्टी बनेको कांग्रेसलाई एक प्रदेश सभामा मात्र सिमित राख्नु ठुलो अन्याय भएको सभापति राईले जानकारी दिनुभयो ।
खोटाङ कांग्रेसको इतिहास बचाउन, आफ्नो मत सुरक्षित गर्न छ्ट्टै प्रतिनिधि सभामाउम्मेद्वारी दिन बाध्य भएको नेपाली काँग्रेसका नेता तथा पुर्व राज्य मन्त्री सर्वधन राईले बताउनुभयो ।
गठबन्धनबाट आधिकारिकरुपमा नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ) र प्रदेश सभा ‘क’ मा नेकपा एकीकृत समाजवादीका विरवलकाजी राई र प्रदेश सभा ‘ख’ मा कांग्रेसका भुपेन्द्र राईले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभामा उम्मेद्वारी दर्ता गराउनु भएको छ । प्रदेश सभा ‘क’ मा पाँचकर्ण राई (पिके) र प्रदेश सभा ‘ख’ मा रामप्रसाद दंगालले उम्मेद्वारी दर्ता गराउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभामा सर्जु श्रेष्ठ र जनता समाजवादी पार्टीबाट डाक्टर केके राईले प्रतिनिधि सभामा उम्मेद्वारी दर्ता गराउनुभएको छ । जसपाको तर्फबाट प्रदेश सभामा राकेश राई र प्रेमकुमार राईको उम्मेद्वारी रहेको छ ।