खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिबिरबाट मोतिबिन्दुको अप्रेसन गर्नुपर्ने ११ जना बिरामीको पहिचान गरिएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाको सहयोगमा नेपाल नेत्र ज्योती संघ, खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समिति हलेसीको आयोजनामा शुक्रबार सञ्चालित शिबिरमा ११४ जनाको आँखाको जाँच हुँदा ११ जनाको मोतिबिन्दुको अप्रेसन गर्नुपर्ने पत्ता लागेको हो ।
शिबिरमा आएका ८६ जनालाई निःशुल्क चश्मा र १५ जनालाई औषधि वितरण गरिएको नेपाल नेत्र ज्योती संघ, खोटाङका अध्यक्ष इन्द्र कसजुले बताए ।
मोतिबिन्दुको अप्रेसन गर्नुपर्ने बिरामीका लागि आगामी असोज २८ गतेदेखि असोज २९ गतेसम्म हलेसीमै निःशुल्क शल्यक्रीया सेवा सञ्चालन गरिने नेपाल नेत्र ज्योती संघले जनाएको छ ।
