खोटाङ। नजिकिँदै गरेको चाडवाडलाई लक्ष्यित गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेलमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

दशैं तिहार, छठ लगायतका चाडवाडका समयमा यात्रुको सहयोगका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा दिक्तेलबजारको रत्नपार्कस्थित किरातचोकमा यात्रु सहायकता कक्ष सुरु गरिएको हो ।

चाडपर्व विशेष सुरक्षा योजना २०७९ अन्तरगत एक जना नेपाल प्रहरी र एक जना ट्राफिक प्रहरी खटाइएको यात्रु सहायता कक्ष शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले उद्घाटन गरेका हुन् ।

चाडबाडका समयमा यात्रुको अधिक आवत–जावत हुने भएकाले उनीहरुको सहयोग र सुविधाका लागि यात्रु सहायता कक्ष सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

चाडवाडका समयमा आवत–जावत गर्ने यात्रुको हैरानी, दुःख कष्ट, चर्को भाडा दर, क्षमताभन्दा बढी यात्रु हाल्ने लगायतका गुनासो सुन्ने र सुनुवाईका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो । चाडवाडका समयमा गाडीको भाडादरमा मनपरी हुनसक्छ ।

यात्रुबाट बढी भाडा उठाइन सक्छ । दुःख, झन्झट र हैरानी दिने, तानातान गर्ने हुनसक्छ, डिएसपी मुकारुङले भने, यात्रुले टिकट नपाउने वा बढी भाडा नपाए गाडी लैजान्न भन्ने समस्या आएको अवस्थामा यात्रुको सुविधाका लागि प्यासेञ्जर हेल्पडेस्क खडा गरिएको हो ।

प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, सवारी साधन चलाएकोबेला मोबाईल प्रयोग नगर्न, क्षमताभन्दा बढी यात्रु नराख्न, तिब्र गतिमा सवारी साधन नचलाउन, सवारी ऐन र ट्राफिक संकेतको पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर