असोज १४,खोटाङ । अविरल वर्षाका कारण भत्किएका संरचना तत्काल पुनः निर्माण गर्न दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाउनुभएको छ । यही असोज–९ देखि १२ गतेसम्मको अविरल वर्षाका कारण गाउँपालिका क्षेत्रभित्र ठूलो क्षति भएको र गाउँपालिकाको स्रोतमात्र पुनः निर्माण नसकिने भन्दै गाउँपालिका अध्यक्ष राईले आर्थिक सहायताका लागि मुख्यमन्त्री कार्की र भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

अविरल वर्षाका कारण गाउँपालिकाभित्रका रमाइलो–पञ्चमी–काल्सिङ खोला सडक, रेग्मीटार–पञ्चमी सडक, खानीडाँडा–याम्खा–पञ्चमी–चिप्रिङ सडक, तावाखोला–याम्खा–पञ्चमी सडक, दिलैची–टेम्मा–ओख्रे सडकमा क्षति पुगेको गाउँपालिका अध्यक्ष राईले बुझाउनुभएको ज्ञापनपत्रमा उल्लेख छ ।

चाडपर्वको मुखमा सडक बिग्रिँदा दैनिक जीवन र चाडपर्वमा समेत प्रभाव पार्ने हुँदा यी सडकहरू म्मतका लागि रू ५० लाख आपतकालीन बजेट विनियोजन गर्न गाउँपालिका अध्यक्ष राईले ज्ञापनपत्रमार्फत मुख्यमन्त्री कार्की र भौतिक पूर्वाधारमन्त्री राईलाई अनुरोध गर्नुभएको हो ।

वर्षा रोकिएलगत्तै असोज–१३ गते नै विराटनगर पुग्नुभएका गाउँपालिका अध्यक्ष राईले मुख्यमन्त्री कार्कीलाई भेटेर र भौतिक पूर्वाधारमन्त्री राईलाई टेलिफोनमार्फत अनुरोध गर्नुभएको जनाइएको छ । कोशी प्रदेशका वर्तमान भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई सोही गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष हुनुहुन्छ । ।

प्रतिक्रिया

सम्बन्धित खवर