स्वास्थ्य परीक्षण शिविरमा जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर रुपेश संग्रौला सहितको मेडिकल अधिकृतको टोली ।

असोज २,खोटाङ । जिल्ला कारागार खोटाङमा रहेका कैदीवन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । संविधान दिवसको अवसर पारेर बुधबार कारागारभित्रै कैदीवन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय दिवस समारोह समितिद्धारा आयोजित स्वास्थ्य परिक्षण शिविरमा कारागारमा रहेका ११७ जना पुरुष कैदी, तीन जना महिला कैदी र ४३ जना पुरुष बन्दीको गरि कुल एक सय ६३ जनाको स्वास्थ्य परिक्षण गरिएको हो । शिविरमा जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डाक्टर रुपेश संग्रौला सहितको मेडिकल अधिकृतको टोली,स्वास्थ्य कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वास्थ्यकर्मीहरुले कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय दिवस समारोह समितिले भदौ ३१ गते “महिला अधिकारको सन्र्दभमा नेपालको संविधान”विषयमा खुल्ला महिला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।

संविधान दिवसकै अवसरमा असोज ३ गते पत्रकार महासंघको संयोजकत्वमा संविधान दिवस विषयमा “परिसम्वाद” कार्यक्रम, महिला म्युजिकल चियर र शहिद घोषणा भएका तर,राज्यबाट सेवा सुविधा लिनबाट छुट भएका शहिद परिवारहरुको नामावली संकलन गरी सेवा सुविधा प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा पठाउने कार्यक्रम तय भएको संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय दिवस समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ ।

२०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ लाई हस्ताक्षर गरी अनुमोदन गरेसँगै प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर