खोटाङ, १० असार । हलेसी तुवाचुङ नगरपालिकाको १५ औँ नगरसभाले रु ८२ करोड २८ लाख ३३ हजार ३०० बराबरकोअनुमानित बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि उपप्रमुख रमेश राउतले चालुतर्फ रु ४५ करोड १४ लाख २१ हजार, पुँजीगतमा रु २३ करोड ६४ लाख १२ हजार ३०० र सामाजिक सुरक्षातर्फ रु १३ करोड ५० लाख बजेट प्रस्तुत गर्नुभएको हो ।
भौतिक पूर्वाधारतर्फ रु छ करोड ४६ लाख २० हजार, सामाजिक विकासतर्फ रु चार करोड ६० लाख ७५ हजार, आर्थिक विकासतर्फ रु दुई करोड दुई लाख, सुशासन तथा संस्थागत विकासमा रु ६१ लाख ८७ हजार ३०० बजेट विनियोजन भएको छ । यस्तै, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ६४ लाख ३० हजार विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । नगरसभामा नगर प्रमुख विमला राईले आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नगर प्मुख राईले आर्थिक विकास तथा गरिबी निवारणमा योगदान पु¥याउने, उत्पादन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी वृद्धि गर्ने, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नगरबासीको सम्मानयुक्त जीवनयापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल, सहज, छिटो र प्रभावकारी सेवा प्रवाह, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण लगायतका विषयलाई प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरसभामा आर्थिक विनियोजन, नगर प्रहरी र धार्मिक तथा पर्यटकीय क्षेत्र संरक्षण तथा व्यवस्थापन सम्बन्धी विद्ययक २०८१ प्रस्ताव पेश भएको छ ।