बैशाख २६,खोटाङ । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला÷पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता आजबाट सुरू हुँदैछ । गाउँपालिकाको प्रायोजनमा आज वैशाख–२६ गतेदेखि २९ गतेसम्म सम्चालन हुने महिला÷पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता आजदेखि शुरु हुने आयोजकले जनाएको छ ।
गाउँपालिकामा भलिबल खेलको विकास गर्दै स्थानीय स्तरमा प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोग तथा खेलकुद विकास समितिको व्यवस्थापनमा अन्तरपालिकास्तरीय ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला÷पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना महिला÷पुरुष दुवै स्थानीय तहले समानरुपमा क्रमशः नगद रु दुई लाख, रु एक लाख, रु ५० हजार र रु २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विकास समिति ऐसेलुखर्क गाउँपालिका अध्यक्ष रजिन राईले जानकारी दिनुभएको छ । विद्यागत पुरस्कारतर्फ महिला÷पुरुष दुवै समूहका एक÷एकजना उत्कृष्ट खेलाडीलाई नगद रु पाँच÷पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, बेस्ट स्पाइकर, बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट डिफेण्डर, बेस्ट सर्भर तथा अनुशासित समूह र बेस्ट प्रशिक्षकलाई नगद रु तीन÷तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले जानकारी दिनुभएको छ ।
अन्तरपालिकास्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक, आमचोक गाउँपालिका भोजपुर, माप्यदूधकोशी सोलुखुम्बू र केपिसगढी गाउँपालिका बाक्सिला खोटाङ सहभागी भएका छन् । पुरुषतर्फ आयोजक, षडानन्द नगरपालिका भोजपुर, नेचासल्यान गाउँपालिका सोलुखुम्बू, दमक नगरपालिका झापा, सोताङ गाउँपालिका सोलुखुम्बू, चिसङ्खु गाउँपालिका ओखलढुङ्गा, ताप्ली गाउँपालिका उदयपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ, रावाबेँसी गाउँपालिका खोटाङ, हलेसी तुवाचुङ नगरपालिका खोटाङ, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी, ऐलुखर्क गाउँपालिका–७ माक्पा र खेलकुद विकास समिति ऐसेलुखर्क–३ ऐलुखर्कको सहभागिता रहेको जनाइएको छ ।
करिब रु १६ लाख २८ हजारमा सम्पन्न गर्ने लक्ष्य राखिएको प्रतियोगिताका लागि गाउँपालिकाले रु १३ लाख ५० हजार रकम उपलब्ध गराएको गाउँपलिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभएको छ । सेमिफाइनल खेलदेखि प्रत्येक खेलमा म्यान अफ द म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताको औपचारिक उद्घाटन आज बिहान ११ बजे गाउँपालिका प्रमुख राई र उपप्रमुख राजेश राजभण्डारीले गर्ने आयोजकले जनाएको छ ।