
काठमाडौं । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबारमा भएको आगजनीबाट करिब ७ सय सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन् ।राष्ट्रसेवक कर्मचारी संगठन नेपालले संकलन गरेको विवरण अनुसार २५० भन्दा बढी चार पाङ्ग्रे सवारीसाधन र ४५० भन्दा बढी दुई पाङ्ग्रे मोटरसाइकल जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
संगठनका अनुसार सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालय सहित ३५ वटा कार्यालय परिसरमा रहेका गाडीमा क्षति पुगेको हो । जसमा सबैभन्दा बढी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र संघीय संसद सचिवालयका सवारी साधनमा बढी क्षति भएको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयमा रहेका कुनै पनि सवारी साधनमा क्षति पुगेको छैन ।
सिंहदरबारमै रहेका करिब २० मोटरसाइकल चोरी भएको र केही चार पाङ्ग्रे सवारीसाधन बाहिर लैजाने प्रयास समेत भएको पाइएको संगठनका अध्यक्ष शरणकुमार गुरुङले जानकारी दिए । उनका अनुसार आसपासका वर्कसपमा काम गर्ने मेकानिक चोरी गर्नका लागि सिंहदरबारमा प्रवेश गरेको आशंका गरिएको छ ।
संगठनले भदौ २६ गतेदेखि प्रधानमन्त्री कार्यालय सहित सबै मन्त्रालय र निकायमा रहेका सवारीसाधनको क्षतिको विवरण संकलन सुरु गरेको थियो । पाँच दिनसम्म चलेको संकलनपछि उक्त विवरण सार्वजनिक गरिएको हो ।