खोटाङ, १ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रामकुमार हिङमाङको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी बस्ने १२ वर्षीया तारा अछामीको विषयमा आफन्तले बलात्कारपछि हत्या गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । गत साउन–२९ गते साँझ मृत भेटिएकी हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी तारा बाम्राङस्थित हिङमाङको घरमा उनी सुत्ने कोठाको बलोमा सुत्लीको डोरीमा आफूले लगाएको डोरी पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

मृतक ताराका बुबा तेजबहादुर अछामी सार्कीले छोरीले झुण्डिएर आत्माहत्या गरेको नभइ बलात्कारपछि हत्या भएको आंशकामा घटनाको अनुसन्धानगरी दोषीमाथि कारबाही गर्न माग गर्दै शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको छ । झुण्डिएको अवस्थामा मृत फेला परेकी ताराको शरीर अर्धनग्न र योनीबाट रगतसमेत बगेको देखिएकाले घटनाको निश्पक्ष छानबिन र दोषी पत्ता लगाइ कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गर्दै आफन्तले उजुरी दिएका हुन् ।

घटना भएको पर्सिपल्ट शनिबार नेपाल पत्रकार महासङ्घ खोटाङको कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै मृतक बालिकाका आफन्तले घटनाका विषयमा सत्य, तथ्य बाहिर ल्याइदिन र न्यायका लागि लडिदिन आग्रह गरेका थिए । उनीहरुले घटनाको छानविन नभएसम्म मृतकको शव नबुझ्ने अडान लिएका थिए ।

मृतक तारा हिङमाङको घरमा एक महिनादेखि काम सघाउने गरि बसेको र बाम्राङस्थित शितला माविको कक्षा–४ मा अध्ययनरत रहेको पाइएको छ । मृतक ताराकी आमा सरिता अछामी सार्की दश वर्षीय छोरासँग हिङमाङको घरदेखि पाँच मिटर पर डेरागरि बस्दै आउनुभएको छ ।

बुबा टेकबहादुर भने, ज्यालादारीको कामका लागि राजधानी काठमाडौँ बस्दै आउनुभएको बुझिएको छ । मृतक तारा आफूसँग बस्न नरुचाउने र महिना दिनअघिदेखि हिङमाङको घरमा बस्दै आएको आमा सरिताको भनाइ छ ।

मृतकका बुबाले घटनाको अनुसन्धान गरिदिन भन्दै जाहेरी दर्ता गराएको र घटनाका विषयमा अनुसन्धान भइहरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । “घटना शंकास्पद भएको भन्दै ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएको छ । मृतक बालिकाको बुबाले दिनुभएको उजुरी आइतबार दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ । परिवार र आफन्तलाई शव हेर्न नदिएको भन्ने उहाँहरुले लगाउनुभएको आरोप आरोपमात्र भएको हो”, उहाँले भन्नुभयो, “कानूनी प्रकृयाअनुसार प्रहरीले शव सुरक्षित गरि मुचुल्का गरेको छ । घटनाको प्रकृति हेर्दा उहाँहरुले भनेजस्तो देखिँदैन । मृतकको शव परीक्षण भएको छ । त्यसको रिपोर्ट आएपछि केही भएको खण्डमा अनुसन्धान अघि बढाउँछौँ ।”

घटनाका विषयमा आफूलाई केही जानकारी नभएको र आफू घर पुग्दा प्रहरीले शव पोको पारेर मुचुल्का गरिसकेको हिङमाङले बताउनुभएको छ । “म प्रायः दिक्तेलमा बस्छु । घटनाका विषयमा जानकारी पाएपछि घरमा गएको थिएँ । के कारणले घटना भयो खुलेको छैन”, उहाँले भन्नुभयो, “मेरो परिवारमा भएको घटनाका विषयमा गहिरो अनुसन्धान गर्न प्रहरीलाई भनेको छु । आत्महत्या नभइ कोही कसैले हत्या गरेको भए अपराधीले उन्मुक्ति पाउनु हुँदैन । अनुसन्धानमा मेरो सहयोग रहनेछ । बिना आधार कसैलाई आरोप लगाउन पाइदैन । सत्यतथ्य बाहिर आउनुपर्छ ।”

घटनास्थलमा आफन्तले लगाएको आरोपलाई पुष्टि गर्ने केही प्रमाण नभेटिएकाले अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ । मृतक ताराको शव आफन्तले चार दिनपछि जिल्ला अस्पताल खोटाङमा परीक्षण गराएर आज (भदौ–१ गते) दाहसंस्कारका लागि बसमार्फत अर्खौले लगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

?>